तुलसीपुर– अमेरिकाको लुइजियानामा शनिबार राति भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीले असमायिकरूपमा ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये एक हुन् – दाङ, तुलसीपुरका २० वर्षीय रोजिन ओली, जो एक वर्षअघि मात्र डाक्टर बन्ने ठूलो सपना बोकेर अमेरिका गएका थिए। अर्का मृतक २२ वर्षीय राजन यादव हुन्, जसको स्थायी ठेगाना अझै खुल्न सकेको छैन। उनीहरू दुवै लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए।
स्थानीय प्रहरीले जनाएअनुसार, भारी वर्षाका बीच तीव्र गतिमा दौडिएको कार सडक छेउको रूखमा ठोक्किँदा एकाएक आगलागी भयो। एकसेकेन्डमै कारमा रहेका दुवै युवाले ज्यान गुमाए। घटनामा अन्य दुई जना घाइते भएको प्रहरीले पुष्टि गरे पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
दाङको तुलसीपुरस्थित रोजिनको घरमा अहिले शोकको कहालीलाग्दो मौनता छ। एक वर्षअघि मात्र अमेरिका पसेका छोराले अब डाक्टर भएर फर्किन्छ भन्ने अभिलाषा बोकेका बुवा–आमाले आज मृत छोराको अन्तिम संस्कार अमेरिकामै हुने खबर सुन्दैछन्।
शरीर पूरै जलेर चिन्नै नसकिने अवस्थामा पुगेको शव अमेरिका ल्याउन सकिने अवस्था नरहेकाले अन्तिम संस्कार त्यहीं गरिने तयारी गरिएको हो। विश्वविद्यालय प्रशासनले रोजिनका बुवाआमालाई अमेरिका बोलाउन पहल थालिएको जनाएको छ।
आफ्ना सपनाहरूलाई साथ लिएर टाढिएको छोरा अब काठको बाकसमा फर्कन पनि नपाउने खबरले गाउँभरि आकाशै भासिएको छ। छिमेकी, साथीभाइ, आफन्त सबै शोकमा छन्।
रोजिन ओलीहरूजस्तै हजारौँ नेपाली युवाहरू उच्च शिक्षा र उज्यालो भविष्यका सपना बोकेर विदेश पुगिरहेका छन्। तर, कहिलेकाहीँ त्यही सपना यात्रा कहिल्यै पूरा नहुने गरी बिचैमा रोकिन्छ।