पालिका सन्देश । तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । सायदै यस्ता चाड होलान्, जसमा थरीथरी रंग पोतिएको होस् । हरेक चाडपर्वको आ–आफ्नै विशेषता र विधी विधान हुन्छन् । आस्था र विज्ञानको सन्तुलन हुन्छ । परम्परा र आधुनिकताको फ्युजन हुन्छ । तर, तिहार वा दिपावली जस्तो विविधता अरु कुनै चाडपर्वमा छैन ।
तिहार धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–उपसना गर्ने पर्व । दियो–बत्ती र झिलिमिलीको पर्व । सेलरोटीको पर्व । देउसी भैलोको पर्व । अनेक रंगले पोतिएको छ, यो पर्व । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कर्तिक शुक्ल पक्षको द्वितिय तिथिसम्म पाँच दिन मनाइन्छ । यसबीचमा काग पूजा, कुकुर पुजा, गाई पूजा, गोरु पूजा, भाई टिकाहुँदै लक्ष्मी पूजा, दिपावली, देउसी भैलो समेटिन्छन् । धार्मिक कथन अनुासर यमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पँच दिनलाई यमपञ्चक भनिन्छ । यह िदिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ ।
लक्ष्मीपूजा ः
तिहारमा धन–ऐश्वर्यकी देवी लक्ष्मीको पूजा–आरधाना गरिन्छ । गाईको गोबरले घर–आगँन लिपपोत गरेर, सबैतिर गहुँत छर्किएर घरलाई पवित्र बनाउने गरिन्छ । त्यसो त गाईलाई नै लक्ष्मी माताको प्रतिक पनि मान्ने गरिन्छ । बहुगुणी प्राणी गाईको गोबरले पिपपोत गरेर, गहुँत छर्किएर पवित्र बनाइसकेपछि फूलमाला, धूपबत्ती बालेर लक्ष्मीको पूजाआजा गरिन्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतिक मनिन्छ । यसदिन घरलाई सफसुग्घर गरे, दियोबत्तीले झलमल्ल पारेर, फूलमालाले सजएपछि लक्ष्मीले वास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।
सयपत्री र मखमली ः
तिहारको विशेष फूल हुन्, सायपत्री र मखलमी । यी दुबै फूल यही सिजनमा ढकमक्क फूल्ने गर्छ । बारीको कान्लाभरी, घरको बार्दलीभरी, पाखाभरी सायपत्रीले ढकमक्क हुने गर्छ । सायपत्री फूल र त्यसको सुगन्धले नै हामीलाई तिहारको आभाष दिलाउँछ । तिहरमा घर सजाउन, पूजाआजा गर्न वा चेलीले माइतीलाई माला लगाइदिन पनि मखमली र सायपत्रीको प्रयोग गरिन्छ । यी दुबै फूल लामो समयसम्म टिक्ने भएकाले आफ्ना माइतीको यश, आयु पनि लामो समय कायम रहोस् भनी प्रतिकात्मक रुपमा सायपत्री र मखमलीको प्रयेग गरिन्छ । त्यसो त यी फूलहरु आफैमा आकर्षक मात्र होइन, औषधीय गुणले भरिपूर्ण पनि छन् ।
दियो पाला ः
तिहारलाई पुकारिने अर्को नाम हो, दिपावली । यसलाई झिलिमिली पर्व पनि भनिन्छ । तिहारको अर्को विशेषता भनेको घर–आँगनमा दियो बत्ती बाल्ने, झिलिमिली उज्यालो बनाउने हो । दियो बत्ती बालेर औंसीको कालो रातलाई जित्ने यो एक प्रतिकत्मक उत्सव पनि हो, अँध्यारोलाई खुसी र उत्सवको उज्यालोले जित्नुपर्छ भन्ने । त्यसैगरी तिहार लगत्तै चिसो मैसम सुरु हुने । मौसम रुखो र सुख्खा हुने, रात लामो हुने गर्छ । यसको असर हाम्रो मानसिकतामा पनि पर्छ । धेरैजसो यस बखत डिप्रेसनमा समेत पुग्छन् । चिकित्सकहरुले यसलाई ‘विन्टर डिप्रेसन’ भनेका छन् । अतः तिहारमा दियो बत्ती बालेर निरासा, भय आदिलाई हटाउनुपर्छ भन्ने संकेत गरिएको पनि मानिन्छ ।
सेलरोटी ः
हरेकजसो पर्वको आ–आफ्नै परिकार छन् । जस्तो माघे संक्रान्तिमा तरुल, दशैंमा खसीको पक्कु, असार पन्ध्रमा दही चिउरा । तिहारको विशेष परिकार हो, सेलरोटी । तिहारमा यस्ता घर सायदै होलान्, जहाँ सेलरोटी पाक्दैन । हरेकको भान्सामा पाक्ने स्वादिलो एवं मिष्ठन्न परिकार हो यो । चेलीले माइतीलाई ख्वाउने मीठोमसिनो परिकारमा सेलरोटी अनिवार्य हुन्छ ।
देउसी भैलो ः
तिहारको आफ्नोपन भनेको देउसी भैलो पनि हो । देउसी र भैलोले नै तिहारलाई अरु रंगीन बनाउँछ । त्यसो त यसको पनि आफ्नै महत्व र अर्थ छ । धार्मिक कथन अनुसार अयोध्यावासीले आफ्ना परम प्रिय राजाको आगमनमा खुसियाली मनाउने क्रममा देउसी भैलोको प्रचलन सुरु भएको हो । त्यसबेला घर–घरमा दियोबत्ती बालेर ‘देव श्रीराम’ भनिएको र यसलाई नै अहिले आएर ‘देउसिरे’ भन्न थालिएको बताइन्छ ।
ढाका टोपी ः
नेपालीको पहिचान झल्काउने विशिष्ठ शिरपोस हो, ढाकाटोपी । नेपाली मौलिक पहिरनकै एउटा हिस्सा मानिन्छ यसलाई, जो अक्सर दौरा–सुरुवालसँग लगाइन्छ । यही ढाका टोपीको साइनो तिहारसँग पनि अभिन्न रुपमा जोडिएको छ । खासगरी तिहारको बेला चेलीले माइतीको शिरमा ढाका टोपी पहि¥याइदिने चलन छ । यसले माइतीको शिर सधै उच्च होस् भन्ने प्रतिकात्मक सन्देश दिन्छ ।
पशुपंक्षी पूजा ः
तिहारमा पशुपंक्षीको समेत पूजाआजा गरिन्छ । जस्तो काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजा । यी पशुपंक्षीहरुको विशेषता अनुरुप विभिन्न प्रतिक मानेर पूजाआजा गरिन्छ । खासगरी पशुपंक्षीसँग मानव जीवन कति घनिष्ठ रुपमा जोडिएको छ भन्ने कुरा पनि यसले उजागर गर्छ ।