काठमाडौं । सभामुख देवराज घिमिरेको सचिवालयले सांसद सोविता गौतम र सुमना श्रेष्ठलाई संसदमा बोल्न समय नदिएको विषयमा प्रष्टिकरण दिएको छ। सोमबार सांसद श्रेष्ठले र माघ २७ गते गौतमले बोल्न समय मागे पनि सभामुखले अनुमति नदिएको भन्दै आलोचना भएको थियो। तर, सचिवालयले यस विषयमा गलत प्रचार गरिएको जनाएको छ।
सचिवालयका अनुसार, गौतमले माघ २७ गते पारित भइसकेको विधायनसम्बन्धी विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन्। सभामुखले विधेयक पारित भइसकेपछि त्यो आकस्मिक विषय नहुने बताएका थिए। सभामुखले उक्त विधेयक अघि बढाउने क्रममा कानुनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर सहमति जनाइसकेको उल्लेख गर्दै, गौतमले भने प्रक्रियागत त्रुटि भएको भन्दै बोल्न चाहेको सचिवालयले जनाएको छ।
त्यस्तै, सोमबारको बैठक सुरु हुने बेलामा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीहरू समस्यामा परेको विषय उठाउन समय मागेकी थिइन्। सभामुख आफ्नो च्याम्बरबाट बैठक कक्षतर्फ प्रवेश गर्ने बेलामा श्रेष्ठले समय मागेकाले त्यस विषयमा जानकारी लिन समय नभएको सचिवालयको भनाइ छ। सभामुखले, ‘‘यदि विषय उठाउनु नै थियो भने बैठक सुरु हुनुअघि जानकारी गराउन सकिन्थ्यो। अब भोलि उठाउन सक्नुहुन्छ,’’ भनेको सचिवालयले उल्लेख गरेको छ।
सचिवालयले आकस्मिक समयमा बोल्नका लागि बैठक सुरु हुनुअघि नै २०–३० जनाले समय माग्ने गरेको तर बढीमा १० जनाले मात्र अवसर पाउने गरेको बताएको छ। साथै, संसदीय प्रक्रियाभन्दा बाहिर गएर मिडिया तथा सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्न खोजिएको आरोप सचिवालयले लगाएको छ। सभामुखले आगामी दिनमा पनि संसदीय अभ्यास, कानुन, नियमावली र दलीय समझदारीअनुसार नै निर्णय लिने सचिवालयले स्पष्ट पारेको छ।