काठमाडौं । गायिका एलिना चौहानले अन्ततः अमेरिकामै गायक प्रताप दासलाई भाइटिका लगाएकी छन्। पछिल्लो समय उनीहरूबीचको अस्वाभाविक निकटतालाई लिएर सामाजिक सञ्जालमा अफेयरको हल्ला फैलिएको थियो।
सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका एलिना र प्रतापले लगातार टिकटक भिडियोहरू बनाउँदै पोस्ट गर्न थालेपछि चर्चा झन् बाक्लिएको हो। तर दुवैले बारम्बार आफूहरू दाजु–बहिनीको पवित्र नातामा बाँधिएका भएको स्पष्ट गर्दै अफवाहको खण्डन गरेका थिए। यद्यपि, धेरैले तिनको भनाइमा विश्वास नगरी ‘भाइटिकामा थाहा पाइन्छ’ भन्दै कमेन्ट गरेका थिए। केहीले त दाजु–बहिनीको पवित्र सम्बन्धलाई मजाक बनाएको आरोपसमेत लगाएका थिए।
अन्ततः सबै अनुमानलाई शान्त पार्दै एलिनाले प्रतापलाई विधिपूर्वक टीका लगाइन् र उपहारसमेत दिइन्। फेसबुक लाइभमार्फत प्रसारण गरिएको उक्त क्षणमा प्रतापले दक्षिणा दिएर एलिनालाई ढोगेका थिए।
टीका लगाइसकेपछि एलिनाले व्यंग्यात्मक ढंगमा भनिन्, “अमेरिकाको समय फरक भएकाले तपाईंहरूलाई एक दिन ढिलो प्रमाण देखाउनुपर्यो। अब त चित्त बुझ्यो होला नि? म त यो समाजको अग्निपरीक्षाका लागि नै जन्मिएकी रहेछु। बाँचुञ्जेल यस्तै टर्चर दिनुहोस्।”
सोही क्रममा उनले सानो भिडियो पोस्ट गर्दै लेखेकी छिन्, “दाजु–बहिनीको पवित्र सम्बन्धमा पनि प्रमाण दिनुपर्ने हाम्रो समाज।”
एलिना र प्रतापले भाइटिका गरेपछि धेरैले मौन बसेका छन्, तर केहीले अझै पनि शंका गर्न छोडेका छैनन्। कतिपयले अभिनेत्री प्रियंका कार्कीले विगतमा आयुष्मान देशराजलाई भाइटिका लगाएको प्रसंगसँग तुलना गर्दै यो पनि ‘नौटंकी’ हुन सक्ने टिप्पणी गरेका छन्।



















