रोल्पा — तीन दिनदेखि सम्पर्कविहीन रहेका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी बुधबार पालिकाको सम्पर्कमा आएका छन्।
गएको असार २३ गते राति ९ बजे कार्यालयबाट निस्किएका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासक हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इञ्जिनियर चन्द्रप्रकाश ओली, सब–इञ्जिनियर निशा आचार्य, कर्मचारी शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए।
थप जानकारी दिँदै गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले भने, “उहाँहरू गुल्मी पुग्नुभएको रहेछ। केही समयअघि मात्रै सम्पर्कमा आउनुभयो। लिवाङ हुँदै कार्यालय फर्किने भन्नुभएको छ।”
प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले कार्यालयको भुक्तानीका लागि आवश्यक ओटीपी कोड लिन रुकुमपूर्व जाने जानकारी गराएको पालिकाले जनाएको थियो। तर त्यसपछि उनीहरू सम्पर्कबाहिर थिए। पालिकाले सार्वजनिक सूचना नै जारी गरेर उनीहरूलाई शीघ्र सम्पर्कमा आउन आग्रह गरेको थियो।
“यहाँ नेटवर्कको समस्या छ। ओटीपी नआउने डरले रुकुम जानुहुन्छ भनेको हो। तर सम्पर्कविहीन हुँदा कार्यलयको काम प्रभावित भयो,” अध्यक्ष बुढामगरले स्पष्ट पारे।
बुधबार दिउँसो २ बजे ती कर्मचारीहरू गुल्मीस्थित बुर्तिबाङको एक होटलमा रहेको जानकारी आएको उनले बताए। “गुल्मी किन जानुभयो भन्ने बारे उहाँहरूले केही भन्नुभएको छैन। अब कार्यालय फर्किएपछि छलफल गर्नेछौं,” अध्यक्ष बुढामगरले थपे।
यस विषयमा थप जानकारी लिन प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई सम्पर्क प्रयास गर्दा कार्यालयको वेबसाइटमा उल्लेखित नम्बरमा फोन गरे पनि उनले उठाएनन्।