Search
Close this search box.
Search
Close this search box.

सरकारद्वारा टि-२० विश्वकप तयारीका लागि पाँच करोड निकासा

नेपाल सरकारले आइसिसी पुरुष टी–२० विश्वकपको तयारीका लागि नेपाली टोलीलाई पाँच करोड रुपैयाँ निकासा गरेको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले बुधबार विश्वकपको तयारीका लागि पाँच करोड रुपैयाँ निकासा गरेको परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । सदस्यसचिव घिसिङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन् । 

‘नेपाली टोलीले क्रिकेटको विश्वकपजस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति धन्यवाद दिन चाहन्छु,’ सदस्यसचिव घिसिङले भनेका छन् । 

EPIC EPIC

दुई महिनाअघि नेपालमै आयोजना भएको आइसिसी टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै विश्वकपको स्थान पक्का गरेको थियो । नेपालले १० वर्षपछि दोस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो । तत्कालीन कप्तान पारस खड्काको कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ को विश्वकपमा सहभागिता जनाएको थियो । बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले पहिलोपटक अफगानिस्तान र हङकङलाई हराएको थियो । 

अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको तयारीका लागि सरकारले बुधबार नेपाली टोलीलाई पाँच करोड निकासा गरेको छ

दोस्रोपटक टी–२० विश्वकप खेल्न लागेको नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्दै छन् । यसपटक नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको टेक्ससमा खेल्नेछ । दोस्रो खेल ११ जुनमा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुनेछ । १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

परिषद्का सदस्यसचिव घिसिङले नेपाल टी–२० विश्वकपमा पुगेपछि प्रधानमन्त्री प्रचण्डले आवश्यक तयारीमा कमी हुन नदिने विश्वास दिलाएको बताए । ‘प्रधानमन्त्री प्रचण्डज्यूले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता दिनुभएको थियो । उहाँको आज प्रतिबद्धता पूरा भएको छ,’ घिसिङले भने, ‘अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ वृद्धि हुने विश्वास छ ।’ 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *