काठमाडौं । काठमाडौंमा २९ दिनदेखि जारी सडक आन्दोलनमा संलग्न शिक्षकहरू र सरकारबीच सहमति भएको छ। बुधबार शिक्षा मन्त्रालयमा सम्पन्न वार्तापछि सहमति जुटेको हो। सहमतिका बुँदाहरू भने मन्त्रिपरिषद् बैठकपछिमात्र सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ।
वार्तापछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालयतर्फ प्रस्थान गरेका छन्। निर्णय सार्वजनिक गर्न मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन आयोजना गरिने बताइएको छ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति अम्मरबहादुर थापाले यस अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने निश्चित भएको बताए।
गत चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले विद्यालय शिक्षा ऐन र अन्य विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए। बुधबारको सहमतिसँगै आन्दोलन अन्त्य हुने अपेक्षा गरिएको छ।