Search
Close this search box.
Search
Close this search box.

सर्लाही घटनामा आन्दाेलनरत पक्ष र प्रशासनबीच सहमति, विरोधका कार्यक्रम स्थगित

सर्लाहीको बरहथवा नगरपालिकामा भएको घटनाका आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत पक्षले विरोध प्रदर्शनका कार्यक्रम स्थगित गरेका छन् ।

आज आइतवार बेलुका मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

EPIC

जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय–सर्वपक्षीय छलफलपछि बरहथवामा रहेको नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयअनुसार मधेस सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शय्याको बनाउने, अस्पतालको नामकरण गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नामबाट गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको घिमिरेले बताउनुभयो ।

सहमतिपछि तीन दिनदेखि घटनास्थलमै रहेको बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको शव पोस्टमार्टम गर्ने तयारी भएको छ ।

गएको शुक्रवार मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको झडपमा प्रहरीको गोली लागेर साहको ज्यान गएको थियो । त्यसपछि प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए ।

हिजो शनिवार दिनभर प्रदर्शन रोक्न प्रयास भए पनि प्रशासनले आक्रोशित भीडलाई शान्त पार्न सकेको थिएन । स्थानीय प्रशासनले शुक्रवार बेलुका कर्फ्यु लगाएर हिजो निषेधाज्ञा लगाएकोमा आज फेरि कर्फ्यु लगाएको थियो । घटनाको छानबिन गर्न केन्द्र सरकारले तीन सदस्यीय समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *