विराटनगर। विराटनगरमा सवारी जाँचको क्रममा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको छ ।
घटना हिजो राति ८:२० बजे विराटनगर महानगरपालिका–४ स्थित दूधफारम चोकमा भएको हो । मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले ट्राफिक प्रहरीसहित उक्त स्थानमा सवारी जाँच गरिरहेको थियो । प्रहरीले विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई जाँचका लागि रोकेको थियो । सोही समयमा तीव्र गतिमा आइरहेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो, तर उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतक चौधरी सामाजिक अभियन्ता थिए । दुर्घटनापछि प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–१ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।