काठमाडौँ । सहकारी संस्था विरुद्ध बचतकर्ताहरू माइतीघर मण्डलामा पाल टाँगेर बसेको आज ३० दिन बितेको छ । दुःख गरेर कमाएको धेरथोर पैसा सहकारीमा बचत गर्दा अन्ततः फिर्ता नपाएपछि पीडित बचतकर्ताहरू सरकार गुहार्न सडक संघर्षमा उत्रिन बाध्य भएका हुन् । तर, आन्दोलनको ३० दिन बितिसक्दा समेत न्यायको अनुभूति गर्न नपाएको पीडित बचतकर्ताहरूको भनाइ छ । यस्तो अवस्थालाई चिर्न भोलि बिहीबार राजधानीमा निर्णायक आन्दोलनको तयारी गरिएको पीडित बचतकर्ताहरूले बताएका छन् ।
बिहीबार राजधानीमा १० हजार सहकारी पीडित बचतकर्ताहरू उतारेर विशाल प्रदर्शनको तयारी गरिएको ‘सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समिति’ का अध्यक्ष सुनिता राजभण्डारीले बताइन् ।
‘अब हामी निर्णायक आन्दोलनमा छौँ । एक महिनादेखि लगातार सडक संघर्षमा रहँदा समेत पीडितहरूको कुनै समस्याको सुनुवाइ भएन । समस्या समाधानमा नत सम्बन्धित सहकारी संघ संस्थाहरू जिम्मेवार देखिए नत सरकार नै’ राजभण्डारीले भनिन्, ‘अब हामी निर्णायक आन्दोलनको चरणमा छौँ । भोलि देशैभरबाट १० हजार सहकारी पीडित बचतकर्ताहरू राजधानी उतार्छौँ ।’