सहकारी ठगी प्रकरणको कथामा बनेको फिल्म ‘महाभोज’ को प्रदर्शन मिति १५ जेठलाई तोकिएको थियो । तर, तोकिएको मितिमा फिल्म रिलिज हुन सकेन । निर्माण पक्ष राजनीतिक गतिविधिबाट प्रभावित बन्न पुगेको छ ।
१५ जेठमा (गणतन्त्र दिवस) गणतन्त्रवादी तथा राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने तथा १९ जेठबाट यातायात व्यवसायीले सातबुँदे मागसहित अनिश्चितकालीन सवारीसाधन नचलाउने निर्णय गरेपछि निर्माताले फिल्मको रिलिज तत्कालका लागि स्थगन गरेका हुन् । यद्यपि, फिल्मको नयाँ प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
निर्माता हिमाल कडरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै ‘महाभोज’को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।’
उनले परिस्थित सामान्य भएपछि फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी दिएका छन् । फिल्ममा दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन छ । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, सुरक्षा पन्त, वसुन्धरा भुसाललगायतको अभिनय छ । फिल्मका लागि मंगलबारबाट देशभरका हलमा अग्रिम टिकट बुकिङसमेत खुलाइएको थियो ।