काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णु कुमार कार्की बैंक ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । कुमारी बैंक लिमिटेडको ऋण चुक्ता नगरेपछि कार्कीको नाम कालोसूचीमा समावेश गरिएको हो ।
कर्जा सूचना केन्द्रले २०८० पुस २० गते सूचना प्रकाशित गर्दै कार्कीलाई कालोसूचीमा राखेको हो । यो घटनाले सांसद पदमा उनको नैतिक संकट उत्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कालोसूचीमा रहेका व्यक्तिले उम्मेदवार बन्न नपाउने व्यवस्था छ । यद्यपि, पद जाने नजाने विषयमा कानुनी अन्योल कायमै छ ।
सांसद कार्कीको नाममा रहेको कम्पनी ‘न्यु मनकामना इट्टा कारखाना प्रा.लि.’ ले कुमारी बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले धितो राखिएको सम्पत्ति लिलामी प्रक्रियामा अघि बढाएको छ । बैंकले २०८० पुस १८ गते कान्तिपुर दैनिकमा ३५ दिने सूचना प्रकाशित गरी ऋण भुक्तानी गर्न आग्रह गरेको थियो ।
सांसद कार्कीले बैंकसँगको हिसाब अझै नमिलेको स्विकार्दै भने, “मैले बैंकलाई जग्गा काटेर लैजान भनेकै छु, तर मिलेको छैन । बैंकसँग कुनै गुनासो छैन ।”
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ बाट निर्वाचित सांसद कार्कीको विभिन्न स्थानमा रहेका जग्गा बैंकले लिलामीका लागि प्रकृया अघि बढाइसकेको छ ।




















