चालु आर्थिक वर्षको साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को साउनमा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख रमेश अर्यालले जानकारी दिए ।
गत आर्थिक वर्षको साउनमा २५ हजार ४२८ नेपालीले श्रम स्वीकृति लिएका थिए । साउनमा सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । त्यस्तै कतारमा १२ हजार ५७०, संयुक्त अरब इमिरेट्समा ८ हजार १४०, साउदी अरेबियामा ६ हजार ७०५ र कुवेतमा ४ हजार २८४ श्रम स्वीकृति जारी भएको छ ।
पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।
कुल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहोर्याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।
कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको अर्यालले जानकारी गराए ।