साउने सङ्क्रान्तिको रहस्य


सनातन धर्म ॐकार परिवारले समय–समयमा विभिन्न तिथि–मितिमा पर्व, उत्सव, चाडपर्व, मेला र जात्रा मनाउँदै आएको पाइन्छ। यस्ता परम्पराहरू प्राचीन कालदेखि निरन्तर रुपमा चलिआएका छन्। हाम्रा मौलिक परम्पराहरू केवल रमाइलो वा मनोरञ्जनमा सीमित छैनन्; ती पर्वका आफ्नै विशेषता, मौलिकता, व्यवहारिकता, सामाजिक सद्भाव, प्रकृतिको संरक्षण, दुर्गुणको नाश, खराब प्रवृत्तिप्रति घृणा, मानवीय प्रेम, प्राणीहरूप्रतिको सहभाव, वैज्ञानिक पक्ष र आध्यात्मिक सन्देशहरूसँग सम्बन्धित हुन्छन्।

त्यस्तै मौलिक पर्वहरूमध्ये एक हो- श्रावणी पर्व, अर्थात् साउने सङ्क्रान्ति

EPIC EPIC EPIC EPIC EPIC

पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। यद्यपि सूर्यले सबै राशीलाई प्रभावित गरे पनि कर्कट र मकर राशिमा सूर्यको प्रवेशलाई विशेष धार्मिक महत्वका साथ लिइन्छ।

यस दिनदेखि सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले दिन छोटिँदै र रात लामिँदै जान्छ। वैदिक विज्ञान अनुसार पनि असार ७ गतेदेखि दिन छोटिन थाल्छ र पुष ७ गतेदेखि दिन फेरि लम्बिन थाल्छ।

साउन महिना विशेष गरी सनातन हिन्दु धर्ममा विशेष महत्वको मानिन्छ। यो दिनदेखि स्नान, दान, होम, श्राद्धजस्ता कार्यको सुरुवात गरिन्छ। धर्मशास्त्र अनुसार सूर्यको दक्षिणायन यात्रा देवताहरूको रात र पितृहरूको दिन मानिने भएकाले पितृकार्यको थालनी पनि यही समयदेखि गरिन्छ।

साउने सङ्क्रान्तिका दिन असारे झरीका कारण हुने छालाका रोगहरू (जस्तै लुतो, खटिरा, दाद) बाट बच्न “लुतो फाल्ने” प्रचलन रहिआएको छ। यसै सन्दर्भमा काण्डरक नामक राक्षसको पूजा गर्ने परम्परा पनि छ।

साउने सङ्क्रान्तिदेखि विवाहित महिलाहरू सौभाग्यको प्रतीकको रूपमा हरियो लुगा, चुरा र मेहन्दी लगाउने, प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरमा पूजाआजा गर्ने चलन छ।

सांस्कृतिक विविधता भित्रको एकता

साउने सङ्क्रान्ति नेपालका विभिन्न समुदाय र जातजातिबीच फरक–फरक तरिकाले मनाइन्छ:

  • लिम्बू समुदाय: यसलाई ‘सिसेक्पा तङ्नाम’ भनिन्छ।
  • पूर्वी तराईका आदिवासी समुदाय: आफ्ना ईष्टदेवलाई नयां पाकेका फलफूल चढाएर ढोकामा बाँध्ने परम्परा।
  • धिमाल समुदाय: असारे पूजा र धङधङगे मेलाको समापनका रूपमा मनाउने।
  • पश्चिम नेपाल: जुम्ला क्षेत्रका आदिवासीहरूले देउडा गीत र अगुल्टो हानेर नराम्रो कुराहरू हटाउने धार्मिक भावना व्यक्त गर्छन्।

यी विविध सांस्कृतिक अभ्यासहरूले साउने सङ्क्रान्तिलाई अझ समृद्ध बनाएका छन्। यसरी हेर्दा साउने सङ्क्रान्ति कुनै एक धर्म, जाति वा भूगोलको मात्र पर्व नभई सम्पूर्ण नेपालीहरूको साझा सांस्कृतिक धरोहर हो।

आजसम्म साउने सङ्क्रान्तिबारेका अधिकांश अभिलेख र व्याख्या केवल एक जाति वा वर्गको परम्परामा आधारित देखिन्छ। तर यो पर्वलाई राष्ट्रिय तहमा सबै समुदायका साझा चाडको रूपमा विकास गर्न आवश्यक छ। विभिन्न संचार माध्यमहरूले जातजातिमा पुगेर यो पर्व कसरी, किन र कुन मूल्य–मान्यताका आधारमा मनाइन्छ भन्ने अध्ययन र प्रकाशन गर्नु जरुरी छ।

चेतना साहित्य समाज पनि पर्वहरूको पुनर्संरचना र अनुसन्धानमा लागिपरेको छ।

पूर्वी नेपालमा साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा जङ्गलमा गई आवश्यक अन्न, फूल, पात (च्योङ) सङ्कलन गरिन्छ र हरियो बाबियोको डोरीमा सिउरी टाँसी घरको ढोकामा झुण्ड्याउने गरिन्छ। घरमा भएका अन्न र परिकार बनाएर सपरिवार मिलेर खाइन्छ। साँझपख नाङ्लो, झ्यालुङ, थाल, ढोल आदिबजाउने चलन छ।

साउने सङ्क्रान्ति छालाजन्य रोगबाट बच्ने, प्रकृतिको पूजा गर्ने, नयाँ अन्नबाली भित्र्याउने, विगतको समीक्षा र भविष्यको योजना बनाउने पर्व हो। हाम्रा हजुरबुबा–बाजेहरू भन्थे, “अब त धान पाक्यो, अब हामी माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं।”

त्यसैले, यो पर्व सामाजिक, साँस्कृतिक मात्र होइन, आर्थिक र राजनीतिक दृष्टिले पनि समीक्षा र आत्ममूल्यांकनको अवसर हो।

सांस्कृतिक विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिक द्वन्द्व र अन्य नकारात्मक पक्षहरूलाई पराजित गर्ने आशयसहित साउने सङ्क्रान्तिको महत्व अझ बढी हुन्छ।

वैज्ञानिक रूपमा पनि सूर्यको कर्कट रेखामा प्रवेशले जलवायुमा परिवर्तन ल्याउँछ। त्यसैले साउने सङ्क्रान्ति प्रकृतिसँग मेल खाने, मौसमसँग सम्बन्धित, मानव जीवनमा असर पार्ने पर्व हो।

शिवको उपासना, व्रत, नारी सौभाग्यका प्रतीकहरू र सृष्टिको ऊर्जा चक्रसँग साउने महिना जोडिएको छ।

यसैले, साउने सङ्क्रान्ति सबै जात, धर्म, भाषाभाषीको साझा पर्व हो। यसको संरक्षण, संवर्धन र अध्ययन–अनुसन्धान हाम्रो साझा जिम्मेवारी हो।

जय सनातन धर्म! जय चेतना साहित्य समाज!

– इन्द्र प्रसाद ओली, अध्यक्ष, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल
जय चेतना साहित्य समाज

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *