काठमाडौं । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसाम राज्यका स्थायी बासिन्दा क्षेत्रीको गएराति गुवाहाटीमा निधन भएको साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिएका छन् ।
क्षेत्री नेपाली भाषा साहित्यका विशिष्ट स्रष्टा हुन् । उनले ‘बसाइँ’, ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ जस्ता चर्चित उपन्यासहरू लेखेका थिए । त्यसैगरी, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रहका साथै कथा, निबन्ध र नाटक विधामा कलम चलाएर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
क्षेत्रीलाई नेपाल सरकारले जगदम्बाश्री पुरस्कार प्रदान गरेको थियो भने भानु पुरस्कारलगायत विभिन्न सम्मानले पनि सम्मानित गरिसकेको थियो । भारतीय नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण भूमिका खेलेका उनलाई भारत सरकारले सन् २०२० मा सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ पुरस्कारबाट पनि सम्मान गरेको थियो ।
नेपाल र भारत दुवै देशमा चर्चित रहेका क्षेत्रीका कृतिहरूले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । उनका निधनप्रति नेपाली साहित्यिक जगतले गहिरो दुःख व्यक्त गरेको छ ।