Search
Close this search box.
Search
Close this search box.

सिटौलालाई राष्ट्रिय सभाध्यक्ष नै ठिक

कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि एउटा विषय बहस चलिरहेको छ । त्यो हो– सिटौला राष्ट्रिय सभा अध्यक्ष कि उपप्रधानसहित गृहमन्त्री ।

गृह मन्त्रालय सम्हालेको अनुभव लिइसकेका सिटौलाको रोजाइ पनि सरकारभन्दा राष्ट्रिय सभाको अध्यक्ष नै रहेको बुझिन्छ । उनलाई उम्मेदवार बनाउने क्रममा नै सत्ता गठबन्धनका मुख्य दल कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्ने आन्तरिक सहमति भएको भन्ने अपुष्ट समाचार आएका थिए ।

EPIC

निर्वाचन अगाडिसम्मको राजनीतिक परिस्थिति र निर्वाचनपछिको परिस्थितिमा धेरै परिवर्तन आइसकेको छ । एउटै गठबन्धनबाट एउटै प्रदेशको एउटै क्षेत्रका लागि उम्मेदवार बनेका दुई जनामध्ये कांग्रेसका उम्मेदवार सिटौलाले निर्वाचन जित्नु र माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुनु आफैंमा रहस्यमय छँदै छ ।

यसले कांग्रेसले माओवादीमाथि सिधै चुनौती दिएको भनेर पनि भन्न सकिन्छ । माओवादीले कांग्रेसबाट आफ्नो दललाई धोका दिएको भनेर लगाएको आरोप भने यो पहिलो होइन । गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा नै कांग्रेसले धोका दिएको आरोप माओवादी पार्टीभित्रबाट उठ्दै आएको थियो ।

त्यही आवाजलाई बल पुग्ने गरी कोशीमा केदार कार्की मुख्यमन्त्री बन्ने बेला पनि गठबन्धनको सहमतिअनुसार माओवादीको भागमा परेको मुख्यमन्त्रीको पद कांग्रेसले नै हात पार्‍यो । त्यस प्रकरणमा पनि माओवादी कांग्रेसप्रति आक्रोशित बन्यो ।

तर मुख्यमन्त्री भइसकेपछि कांग्रेसमा गठबन्धनलाई थप बलियो बनाएर लैजाने सहमति भएपछि माओवादी केही थामिएको थियो । तर माओवादीले गर्दै आएको शंकालाई नै बल पुग्ने गरी राष्ट्रिय सभा निर्वाचनको परिणाम देखियो । माओवादीका दोस्रो तहका नेताहरूले अहिले गठबन्धनमाथि नै प्रश्न उठाउँदै आउन थालेका छन् ।

पार्टीको आधिकारिक निर्णय नआइसकेको र प्रचण्ड स्वयंले पनि यसबारेमा केही मुख नखोलिरहेको अवस्थामा दोस्रो तहका नेताहरूले भने अब राष्ट्रिय सभाको अध्यक्ष माओवादीले पाउनुपर्ने भन्न थालेका छन् ।

माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुको मुख्य दुई कारण छन्– राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कांग्रेसबाट भएको धोका र आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार प्रचण्डले सरकारको नेतृत्व छाड्दाको अवस्थामा संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुने अवस्था ।

परिस्थिति जस्तो आए पनि सिटौलाका लागि अब सरकारभन्दा राष्ट्रिय सभा अध्यक्ष नै उपयुक्त र सुहाउने पद हो भन्ने लाग्छ । पटक पटक सरकारमा सहभागी भइसकेको र उमेरका कारण पनि हुन सक्छ सक्रिय भूमिकामा सिटौलाले त्यति चासो देखाएको पाइँदैन ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि सकारात्मक र सक्रिय भूमिका खेलेका र अन्यको तुलनामा सन्त देखिने सिटौला अन्य दल तथा पार्टीका नेताको नजरमा पनि खासै नराम्रो मानिँदैनन् । सिटौलाले शान्ति प्रक्रियामा मुख्य भूमिका खेलेका थिए । उनी राष्ट्रिय सभा अध्यक्ष हुँदा शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउन सजिलो हुन सक्छ । कान्तिपुर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *