बनियानी। एक समय झापा जिल्लाको ‘कर्णाली’ भनेर चिनिने कचनकवल गाउँपालिकाले गणतन्त्रपछि विकासका सबै क्षेत्रमा उल्लेखनीय फड्को मारेको छ। शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारीसँगै स्वास्थ्य सेवा क्षेत्रमा आएको आमूल परिवर्तनले अब यो पालिकालाई झापाको “स्वास्थ्य मोडल” बनाउन थालेको छ।
गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीका अनुसार पछिल्लो समय विशेष गरी स्वास्थ्य पहुँच, गुणस्तर, संरचना र स्रोत साधनमा ऐतिहासिक परिवर्तन देखिएको छ।
“गाउँपालिकाभित्रको स्वास्थ्य पहुँचमा आमूल सुधार ल्याउने हाम्रो मुख्य लक्ष्य हो,” अध्यक्ष राजवंशीले बताए, “त्यहीअनुसार बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शैय्याको आधारभूत अस्पताल बनाउने अन्तिम तयारीमा छौं।”
हालै सुरु गरिएको डिजिटल एक्स–रे सेवा, २४ सै घण्टा सञ्चालनमा रहेको आकस्मिक सेवा, गर्भवती र बालबालिकालाई लक्षित निःशुल्क सेवा, र प्रयोगशाला तथा औषधि व्यवस्थापनमा भएको स्तरीकरणले नागरिकको उपचारमा गुणात्मक सुधार ल्याएको छ। अस्पतालमा स्वचालित दर्ता प्रणाली, डिजिटल स्वास्थ्य फाइल र एसएमएस बेस्ड हेल्थसिस्टम जस्ता प्रणाली विकास भइरहेका छन्।
गाउँपालिकाले स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट, डेन्टल युनिट, भिडियो एक्स–रे, तथा प्रसूति वार्डको स्तरोन्नति कार्य पनि अघि बढाइसकेको छ। यसका लागि प्रदेश सरकार र संघीय सरकारसँगको साझेदारीमा करिब ४ करोड बजेट विनियोजन गरिएको अध्यक्ष राजवंशीले जानकारी दिए।
भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले केही भारतीय नागरिकहरू पनि स्वास्थ्य सेवा लिन आउँछन्। “हामीले उनीहरूलाई पनि मानवताका आधारमा समान सेवा दिँदै आएका छौं,” अध्यक्ष राजवंशीले बताए, “जसले स्वास्थ्य पर्यटन, मानवता र स्थानीय आय स्रोतको रूपमा ठूलो सम्भावना बोकेको छ।”
भारतबाट दैनिक औसत १०–१५ जना सेवाग्राही आउने गरेका छन्। यसले औषधि तथा परीक्षण सेवाबाट आय वृद्धि गर्न सघाएको छ। अध्यक्षका अनुसार, पालिकाले वर्षमा औसत ३५ लाख रुपैयाँ आम्दानी यिनै सेवाबाट गर्न थालेको छ।
पालिकाले गर्भवती महिलालाई गर्भ रहनासाथै निःशुल्क बीमा गराउने व्यवस्था लागू गरेको छ। साथै, आर्थिक रूपमा कमजोर, अपाङ्गता भएका नागरिक र वृद्धवृद्धालाई लक्षित सेवा प्याकेजहरू विकास गरिएको छ।
पालिकाले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउनका लागि बीमा दर्ता, नविकरण र सेवा वापतको क्षतिपूर्ति दाबी सम्बन्धी प्रक्रिया अनलाइनबाट सहज गराउने योजना अघि सारेको छ। यसले नागरिकको झन्झट हटाउने र प्रणालीको पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
अध्यक्ष राजवंशीले कचनकवल गाउँपालिकालाई स्वस्थ पालिका बनाउने दीर्घकालीन सपना अघि सारेका छन्।
“डिजिटल स्वास्थ्य सेवा प्रणालीको विकासबाट नागरिकलाई सस्तो, छरितो र भरपर्दो सेवा पुर्याउने हाम्रो लक्ष्य हो,” उनले भने।
भविष्यमा प्रसूति सेवा अझ मजबुत बनाउने, विशेषज्ञ डाक्टरको सेवा विस्तार गर्ने, मोबाइल स्वास्थ्य सेवा सञ्चालन गर्ने र सामुदायिक स्तरमै स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने योजनामा पालिका अघि बढिरहेको छ।
पालिकाले स्वास्थ्य क्षेत्रमा नागरिक सहभागिता र प्रतिक्रिया प्रणाली पनि सशक्त बनाएको छ। प्रत्येक वडामा ‘स्वास्थ्य सहजीकरण समिति’ गठन गरेर जनशिक्षा, सचेतना र अनुगमनको कार्य सञ्चालन भइरहेको छ। स्थानीय नागरिकको मूल्यांकनमा आधारित सेवा सुधार रणनीतिले सन्तुष्टि र विश्वास बढाएको छ।