तेह्रथुमलाई ढाकाका कपडाको राजधानी भनेर चिनिन्छ । जिल्लाबासीका लागि ढाका आम्दानीको राम्रो स्रोत बनिरहेको छ । ‘तेह्रथुमे ढाका’का नामले उत्पादित ढाकाका कपडा विदेशमा समेत निर्यात हुने गरेका छन् ।
यही ढाका उत्पादनसँग जोडिएकी छिन् तेह्रथुम सदरमुकाम म्याङलुङकी सीता दाहाल । गाउँमै घरेलु उद्योग खोलेर सीताले विगत १० वर्षदेखि आफूसहित सयौँ जनालाई ढाकाका कपडासँग जोडेकी छिन् । ३०० जना जतिले उत्पादन गरेको ढाका उनले खरिद गर्ने गरेकी छिन् । ढाकाका सामग्री बनाउनका लागि आफूले ५० जनालाई मशिन नै दिएको उनले बताइन् । ‘५० जना जतिलाई त मैले मशिन नै दिएकी छु,’ उनले भनिन्, ‘अन्य अढाइ सय जतिले धागो आदि कच्चा पदार्थ मबाटै लाने गरेका छन् । अनि कपडा बुनेर ल्याइदिन्छन् ।’
सीताले मशिन दिएका म्याङलुङ क्याम्पसका विद्यार्थी र छोरा–छोरी पढाउन सदरमुकाम आएका महिलाहरू छन् । विद्यार्थीहरूले आफ्ना कोठामै तान बुनेर कपडा ल्याइदिने गरेको उनले बताइन् । यसबाट उनीहरूले पढाइ खर्च पनि जुटाउने गरेका छन् ।
अहिले ढाकाका विभिन्न डिजाइन उत्पादन हुन्छन् । तानमा धागाे बुनेर कपडा बनाइन्छ । सीताले रुमाल, साडी, कुर्ता–सुरुवाल, चौबन्दी चोली, दौरा–सुरुवाल, कोट, झोला, टोपी, पर्स र जुत्ता लगायतका विभिन्न कपडा र सामग्री बनाउने गरेकी छिन् । ५० देखि २५ हजार रुपैयाँ मूल्यसम्म पर्ने कपडा र सामग्री आफ्नो उद्योगले उत्पादन गर्ने उनले बताइन् । उनी आफैँ पनि तानमा कपडा बुन्ने गर्छिन् । बजारमा कोठा भाडामा बस्ने महिलाहरू बढी यो पेशामा आबद्ध छन् ।
‘हामी धागो र डिजाइन दिएर पठाउँछौ,’ उनले भनिन् ‘उहाँहरूले बुनेर ल्याइदिनुहुन्छ, हामी त्यसको ज्याला दिन्छाैँ । यस कामबाट एक महिलाले महिनामा १२ देखि १६ हजारसम्म कमाउने गरेको सीताले बताइन् । तान लगेर घरमै बुन्नेहरूले भने ज्यालामा काम गर्ने गरेका छन् । तेह्रथुममा यो व्यवसायले धेरैलाई रोजगारी दिएको छ । घरेलु सामग्री प्रयोग गरेर तान राखिएको हुन्छ । थोरै लगानी गरेर पनि तान जोड्न सकिने र फुर्सदको समयमा कमाइ हुने भएकाले पनि महिलाहरू यसमा जोडिने गरेको सीता बताउँछिन् ।
अहिले ढाका व्यवसायले आम्दानी र रोजगारीसँगै समयको समेत सदुपयोग गरिदिएको सीताको बुझाइ छ । उनका अनुसार युवायुवती पनि यस पेशाप्रति आकर्षित छन् । गिट्टी कुटेर जीविका चलाउने महिलाहरू पनि तान बुन्ने काममा आउन थालेका छन् । ‘एक पाथी धानमा दिनभरि काम गर्ने महिलाहरू अहिले महिनाको १५ हजार भन्दा माथि कमाउँछन्,’ उनी सगर्व भन्छिन् ।
सीताको उद्योगबाट उत्पादन भएका सामान पूर्वका धरान, इटहरी, विराटनगर, दमकमा मात्र नभएर काठमाडौंका होलसेल पसलहरूसम्म पुग्ने गरेका छन् । पसलले ‘अर्डर’ गरे अनुसारका सामग्री उत्पादन गरेर दिन्छिन् उनी । हङकङ, साउदी अरेबिया र यूएईमा समेत कोशेलीका रूपमा सामग्री पठाउने गरिएको छ । रङ्ग नजाने तथा आकर्षक बुट्टा भएकाले तेह्रथुमको ढाका विशेष भएको उनको दाबी रहेको छ ।
ढाका व्यवसायमा लाग्दा सीताले केही समस्या पनि झेल्नु परिरहेको छ । सबैभन्दा ठूलो समस्या धागोको रहेको उनले सुनाइन् । नेपालमा काठमाडौंमा भएको एउटा उद्योग मात्रै राम्रो छ । ‘त्यो उद्योगले समयमा धागो पुर्याउन सक्दैन । नगरपालिकाले सहयोग गरे तेह्रथुमकै ढाका व्यवसायीहरूले धागो उद्योग खोल्न सक्थ्यौँ । धागोको व्यवस्थापन भए धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भनिन् ।
सीताले सामग्री बिक्री गर्न बजारमा पसल खोल्नु परेको छैन । सामान बेच्नका लागि उनले म्याङलुङ बजार आसपास पर्ने आफ्नै गाउँको घरमा ‘न्यू तेह्रथुम ढाका तथा धागो पसल’ खोलेकी छिन् । त्यहाँबाट उनले होलसेल र खुला दुवै तरिकाले बिक्री गर्छिन् । ‘अर्डर’ आउनासाथ बुन्न लगाउने गरेकी छिन् । र स्टाफमार्फत बजारमा पढाउने गरेकी छिन् ।
सीताको व्यवसाय राम्रै चलिरहेको छ । यसबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । घरमै रोजगारी सिर्जना गर्न सक्नु नै आफ्नो सम्पत्ति र सफलता रहेको उनको भनाइ छ । ‘घरमै उद्योग खोलेर जतिलाई रोजगारी दिन सकेकी छु, त्यो नै मेरो सम्पत्ति हो,’ उनले भनिन् ‘यो बचाइ राख्नु मेरा लागि चुनौती रहेको छ । त्यसको सामना