बुद्धशान्ति। सीतारमेश बहुमुखी क्याम्पसमा यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन का लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
अनेरास्ववियुले विद्यार्थी अधिकार, शैक्षिक सुधार, खेलकुद प्रवर्द्धन तथा क्याम्पस समृद्धिका लागि प्रतिबद्धता जनाउँदै सक्षम नेतृत्व अघि सारेको बताएको छ। अध्यक्ष पदका लागि अशोक भण्डारी ले उम्मेदवारी दिएका छन्। २०७९ को स्ववियु निर्वाचनमा सचिव पदमा विजयी भएका भण्डारीले विद्यार्थी अधिकार, शैक्षिक सुधार, अतिरिक्त क्रियाकलाप तथा क्याम्पस विकासका लागि प्रभावकारी योजना लागू गर्ने प्रतिबद्धता जनाएका छन्। विद्यार्थी माझ उनको लोकप्रियता अत्यधिक रहेको र उनी बलियो प्रतिस्पर्धी मानिएको देखिन्छ।
स्ववियु कोषाध्यक्ष पदमा रोशन रेग्मी ले उम्मेदवारी दिएका छन्। उनले स्ववियुको पारदर्शी आर्थिक प्रणाली लागू गर्ने, विद्यार्थीहरूका सुविधा तथा सहयोगका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिज्ञा गरेका छन्। त्यस्तै, प्रत्यक्ष सदस्य पदमा सौरब गौतम, सेलिशा परियार, निसल रिमाल, मञ्जु गौतम, र जोनी योङ्घाङ ले उम्मेदवारी दिएका छन्। उनीहरूले विद्यार्थी हकहित, शैक्षिक सुधार, खेलकुद प्रवर्द्धन तथा क्याम्पस समृद्धिका लागि योगदान दिने प्रतिबद्धता जनाएका छन्।

समानुपातिक सदस्य पदका लागि अनुराग दाहाल, प्रज्ज्वल राई, नविन ढुंगाना, कमल तिम्सिना (कञ्चन), दीपक न्यौपाने, टेकनाथ घिमिरे (निहत), भावना सार्की, आराध्या भट्टराई, र खुसी देवनाथ ले उम्मेदवारी दिएका छन्। यी उम्मेदवारहरूले विद्यार्थीको सामाजिक, शैक्षिक, आर्थिक हितका पक्षमा कार्य गर्ने र समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लक्ष्य राखेका छन्।
सचिव पदमा नितु थापा मगर ले उम्मेदवारी दिएकी छन्। उनी एक सक्रिय विद्यार्थी नेतृ हुन्, जसले निरन्तर विद्यार्थीका अधिकारका लागि आवाज उठाउँदै आएकी छन्। विशेषगरी महिला विद्यार्थीका मुद्दा, क्याम्पस सुधार तथा विद्यार्थी सहभागिता बढाउने कार्यमा उनी प्रतिबद्ध छिन्।

विद्यार्थीहरूको समस्या समाधान गर्न खुला संवादको वातावरण सिर्जना गर्ने र क्याम्पसको विकासका लागि नवीन योजना अघि सार्ने उनको प्राथमिकता रहेको छ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चुनावी माहोल तातेको छ। उम्मेदवारहरू विद्यार्थीहरूसँग प्रत्यक्ष सम्पर्क गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। विद्यार्थीहरूले आफ्ना समस्याहरूको समाधान गर्न सक्षम नेतृत्व चयन गर्न उत्साहित देखिएका छन्।

अनेरास्ववियुले आफ्ना उम्मेदवारहरूलाई सक्षम, इमानदार र विद्यार्थी-मैत्री नेतृत्वको रूपमा प्रस्तुत गर्दै भारी मतले विजयी गराउन सम्पूर्ण विद्यार्थीहरूलाई अपिल गरेको छ। सीतारमेश बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन विद्यार्थीहरूको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर हो।