सिराहा। सिराहाको बरियारपट्टि गाउँपालिका–३ स्थित नेपाल–भारत सीमाको दसगजास्थित नेपाली भूभागबाट शंकास्पद गतिविधि गरेको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक चिनियाँ नागरिकसहित दुई नेपालीलाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चीनबाट नेपाल घुम्न आएका यु सिचाओ, काठमाडौंमा कार्यरत सुखीपुर नगरपालिका–३ निवासी करिब ४८ वर्षीय डा. सञ्जित दास, र बरियारपट्टि गाउँपालिकाका सव–इञ्जिनियर ३५ वर्षीय मुकेश दास रहेका छन्।
सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूको पहलमा नेपाली नागरिक दास र सव–इञ्जिनियर मुकेशलाई भारतीय पक्षसँगको पाँच घण्टा लामो छलफलपछि अभिभावकको जिम्मामा रिहा गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। चिनियाँ नागरिकलाई भने मोबाइलको फरेन्सिक जाँचपछि मात्र दूतावासमार्फत् रिहा गरिने भारतीय पक्षको भनाइ छ।
स्थानीय प्रत्यक्षदर्शी जीवछ साहका अनुसार तीनैजना सीमा स्तम्भ २५६ को दसगजाको उत्तरपट्टि उभिएर भिडियो खिचिरहेका बेला गस्तीमा रहेको एसएसबी टोलीले नियन्त्रणमा लिएको थियो। भिडिओमा चिनियाँ नागरिकको मोबाइलमा डा. दास देखिने गरी दृश्य खिचिँदै थियो।
सशस्त्र प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकका साथमा पासपोर्ट, नेपाल बस्ने तीन महिनाको भिसा, र खाली झोला मात्रै फेला परेको थियो। एसएसबीले चिनियाँ नागरिक यु सिचाओलाई लदनिया चेकपोष्टमै राखेको छ।
सिरहाका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने घटनाबारे आफू कार्यालयबाहिर भएकाले विस्तृत जानकारी नभएको तर फर्किएपछि बुझ्ने बताएका छन्।
घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको र नेपाल-भारत सीमा क्षेत्रमा रहेका नागरिकहरूलाई सचेत रहन आग्रह गरिएको छ।