सिन्धुली। मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । हिजो बेलुका खोटाङबाट भक्तपुरका लागि छुटेको नम्बर खुल्न नसकेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेकाअनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन् ।
अर्का एक जना सुशान्त कक्षपति घाइते भएका छन् । उनको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घटनास्थलमा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ । गाडीमा चार जना सवार थिए । उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका साथीहरू हुन् ।
सँगै गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटनामा बचेका छन् । अरु तीन जना बेपत्ता छन् । प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा बाँचेका सुशान्त सँगै गाडीमा आएका साथीहरू नदीमा बिलाउँदा खोलाबाट निस्किए । उनलाई आफू कसरी निस्किएँ र साथीहरू कहाँ पुगे थाहा छैन । सुनकोसी नदीबाट बाहिर निस्किएपछि केहीबेर उनी बोल्न सकेनन् । घटनास्थलमा उपस्थित सर्वसाधरणले उनलाई कति जना सवार थिए, कहाँबाट आएको ? कसरी यस्तो भयो ? लगायतका प्रश्न गरे । तर, उनी केहीबेर आफन्तलाई फोन लगाइ दिन मात्रै आग्रह गरिएको भिडियोमा देखिन्छ ।
दुर्घटनास्थलबाट स्थानीय गणेश खड्काले सामाजिक सञ्जालमा राखेको भिडिओमा घाइते सुशान्त फोनमा कोही मान्छेसँग बोलिरहेका छन् । उनले ‘अंकल’ सम्बोधन गर्दै फोनमा भनेका छन्, ‘म मात्रै निस्कें । कसरी निस्कें मलाई थाहा छैन ।’ साथीहरू गुमाएका उनी दुर्घटना सम्झँदै निकैबेर भावविह्वल बनेका छन् ।