बुद्धशान्ति (पालिका सन्देश) । कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । सुपारी खेतीसंगै उत्पादन हुँदै आएको झापा जिल्लामा यो बर्ष भने उत्पादनमा गिरावट आएको छ । जलबायु परिवर्तनका कारण हिउँदे बर्षा नहुँदा सुपारी उत्पादनमा असर परेको यहाँका स्थानीय कृषकहरुले बताउँदै आएका छन् ।
हरियो डलरको उपमा पाएको सुपारी खेती झापामा बर्षेनी विस्तार हुँदै गएको छ । तर, पछिल्लो समय जलवायुको चक्रीय प्रणालीमा फेरवदल हुन थालेपछि सुपारी उप्पादनमा भने असर पर्न थालेको सवै भन्दा धेरै सुपारी खेती हुने झापाको पूर्वी उतरी क्षेत्रका किसानले बताएका छन् । अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी निवासी नरेन्द्रकुमार भण्डारीका अनुसार जलबायु परिवर्तनका कारण हिउँदे बर्षा नहुँदा फुल खेल्दा नै धेरै झर्ने समस्याले सुपारी उत्पादनमा गिरावट आएको छ ।
न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने सुपारी खेतीमा पछिल्लो समय आवश्यक दक्ष कृषि प्राविधिक समेत उप्पादन भएका छैनन् । अनुवभको आधारमा खेती गर्दै आएको सुपारी खेतीमा सरकारको उचित पहल र चासो हुन नसकेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार सरकारले कृषिमा सुचिकृत नगर्नु र विदेशी सुपारी आयात रोकेर निर्यात नखोल्दा धेरै समस्या भएको छ ।
झण्डै ९ अर्व रुपयाँ बढीको कारोवार हुने सुपारी खेती विस्तार हुँदै गए पनि भारत निर्यात हुन नसक्दा किसानले सहज बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले पहल गरे पनि माथिल्लो तहका सरकारले चासो नदिँदा बजारको समस्या समाधान हुन नसकेको धेरै सुपारी खेती हुने बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता अनिल वाग्लेले बताए । उनका अनुसार पालिकाले अनुदान उपलव्ध गराए पनि बजार र विक्रीको समस्याले किसानहरू पीडित भएका छन् ।
नेपालको सवैभन्दा धेरै सुपारी खेती हुने झापाको बुधबारे, बाहुनडाँगी र शनिश्चरे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । झापामा झण्डै ३ हजार हेक्टर क्षेत्रफल हाराहारीमा सुपारी खेती हुँदै आएको छ । नेपालमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ । बर्षेनी अर्बौं रुपयाँको सुपारी उत्पादन हुने खेतीको व्यवस्थापन र विकासमा सरकारले चासो नदिँदा कृषकहरु चिन्तित बनेका छन् ।
कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७९÷८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।