काठमाडौं— कर्णालीका मुद्दाहरू बोकेर सुर्खेतदेखि काठमाडौंसम्म खाली खुट्टा यात्रा गरेका अभियानकर्मी नवराज बोहरा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।
सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणको मागसहित बोहराले जेठ ४ गते सुर्खेतबाट यात्रा सुरु गरेका थिए। ३१ दिनको पैदलयात्रापछि उनी यही असार ३ गते काठमाडौं आइपुगेका हुन्।
काठमाडौं आइपुग्ने दिनमै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका बोहराले कार्य व्यस्तताका कारण आज मात्रै भेट पाएका हुन्। भेटका क्रममा उनले प्रधानमन्त्रीलाई आफूले यात्रा र अभियानका क्रममा देखेका समस्या, उपचार नपाएका बालबालिका लगायतका विषयमा जानकारी गराएका थिए।
प्रधानमन्त्री ओलीले बोहराको साहस र समर्पणको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे। उनले शारीरिक कष्ट कम दिँदै स्वास्थ्य र परिवारको ख्याल गरेर अभियानलाई निरन्तरता दिन सुझाव दिए।
भेटपछि प्रतिक्रिया दिँदै बोहराले प्रधानमन्त्रीलाई आफ्ना आवाज सुनाउन पाएकोमा खुसी व्यक्त गरे। साथै, पहिलो चरणको अभियान सम्पन्न भएसँगै अब जुत्ता लगाउने, दाह्री काट्ने र नयाँ स्वरूपमा अभियानलाई अर्को चरणमा लैजाने घोषणा गरेका छन्।