सुहाङ नेम्वाङलाई बुबा सुवासकै पथमा देख्न चाहने आमा

काठमाडौँ — सांसद सुहाङ नेम्वाङलाई राम्रो सुहाउँछ, दौरासुरुवाल । ढाकाटोपी पहिरिएर मुसुक्क हाँस्दा त उनले बुबा तथा संविधानसभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङकै झझल्को मेट्छन् । सार्वजनिक समारोहमा जनताका भावना समेट्दै बोलिरहँदा कतिपयलाई त लाग्छ, ठ्याक्कै बुबाजस्तो ।  अझ दौरासुरुवालको हुलियामा आमानजिकै उभिनुपर्दा के होला ? आमा विशाल आफूलाई थाम्न सक्दिनन् । आँखाको डिल छिचोल्दै बग्न थाल्छन् आँसु । त्यतिबेला सुहाङ आमालाई अंकमाल गर्छन् ।

बाको महाप्रस्थानपछि सम्हालिन नसकेकी आमालाई सन्तानकै अँगालोले जोगाइरहेको छ । सानोमा आमाका दुःखसुखका साक्षी रहेका सुहाङ अहिले तिनै दुःख भुलाउने साथी भएका छन् । बाको ल फर्मतिर गइरहँदा सुहाङका कलिला आँखाले न्यायालयका सपना देख्थे । विमानस्थलनजिक बस्दा जहाज उडिरहेको देख्दा पाइलट सपना देख्थे । तर आमा विशालका आँखामा भने छोराका लागि एउटै सपना थियो, ‘जे बनोस्, बाउजस्तै बनोस् ।’

EPIC EPIC EPIC EPIC EPIC

सुवासको अजम्बरी प्रित थियो विशालसँग । कहिल्यै नढल्ने भरोसा थियो । उनी चाहन्थिन्, ‘बाका सबै गुण छोरामा सरोस् ।’ बुबा हिँडेकै बाटोमा हिँडोस् । सुवास हिँडेको बाटोलाई फराकिलो बनाउन जीवनका थुप्रै समय खर्चिइन् विशालले । त्यो बाटोमा हिँड्दाहिँड्दै सुवास त छुटे । तिनै सुवासले बाटोमा छाडेका बासना छोरा सुहाङले बोकिरहेका छन् । अहिले बुबाकै बाटोमा पाइला लम्काइरहेका छोरालाई दौरा सुरुवालमा देख्दा उनको मन खुसीले भक्कानिन्छ ।

कुराकानीको सिलसिला अगाडि बढ्दै जाँदा सुहाङ घट्टेकुलोको स्मृतिभित्र पस्छन् । जहाँ आमाले दुःखका घट्ट लामो समय चलाइन् । ०४४/४५ सालतिर, डेढ वर्षको अन्तरमा सुहाङ र उनकी दिदी जन्मिए । बहिनी पनि केही वर्षको अन्तरमा जन्मिइन् । ‘त्यतिबेला बाको राजनीतिक संघर्ष चलिरहेको थियो । घरको सबै व्यवहार आमाले सम्हाल्नुहुन्थ्यो,’ सुहाङ सम्झन्छन् । बाल्यस्मृतिका तत्कालीन दृश्यले कहिलेकाहीँ सपना ओगट्न आउँछन् । अक्सर सपनामा सुहाङ आमाले आफूलाई भुटेको भात र दाल मुछेर खुवाइरहेको देख्छन् ।

विशाल सुवासकी कान्छी पत्नी हुन् । जेठी आमाबाट सुहाङका एक दाइ छन् । घर इलाम भए पनि सुहाङ काठमाडौंको घट्टेकुलोमै जन्मिए । एक समयसम्म त्यहीँ हुर्किए । त्यतिबेला आमाले गरेका संघर्ष बिर्सेका छैनन् उनले । आमा व्यक्त त गर्दिनन् । तर सुहाङ बेलाबेलामा सम्झाइदिन्छन्, ‘मलाई पनि सम्झना छ, त्यतिबेला तपाईंले गर्नुभएको दुःख ।’

सुवासको राजनीतिक व्यस्तता बढ्दो थियो । तैपनि उनले सन्तानको शिक्षादीक्षामा कुनै कसर बाँकी राखेनन् । प्रतिष्ठित स्कुलमा उनीहरूलाई भर्ना गरे । बरु कहिलेकाहीं सुवासको अनुपस्थितिमा शुल्क तिर्न ढिला हुँदा आमाले नै जोहो गरेर तिर्थिन् । बाले उनीहरूलाई शालीनता सिकाए, आमाले अनुशासन । कहिलेकाहीं अनुशासनको घेरा तोड्दा सजायको भागेदार पनि हुन्थे दिदीभाइ ।

‘एकपल्ट फुटबल खेल्दाखेल्दै साँझको ७ बजेछ । घर जान ढिला भएछ । बा आमा, म हराएँ भनेर धुइँपताल खोज्नुभएछ । जब म घर पुगेँ, आमाको खुसी र आक्रोश एकैपटक देखियो,’ सुहाङ सम्झिन्छन् । सुहाङकी आमाले कुचो उठाउँदै छोरालाई गाली गरिन्, ‘किन यस्तो गरिस्  ? हामी सधैं डरैडरमा बाँच्नुपर्ने हो ?’

अहिले बुझ्दा लाग्छ, त्यो आमाको आक्रोशमा मायाको घुलन थियो । सुहाङ कक्षा ७ पढ्दा तिहारमा देउसी खेल्न निस्केका थिए । सशस्त्र युद्ध चलिरहेको समयमा उनी घर नफर्किएको कारण बुबाआमामा त्रास भरिएको थियो । ‘घर फर्किँदा उहाँले मलाई बेसरी चप्पलले हान्नुभयो । म रोएँ,’ सुहाङ हाँस्दै सुनाउँछन् । त्यतिबेला उनले बालाई गुनासो गरे ।

बुबाले शालीन हुँदै सम्झाए, ‘तिमी बाहिर गयौ । नभनी गयौ । फेरि यतिबेरसम्म नआउँदा आमालाई चिन्ता हुन्छ । आमालाई चिन्ता हुँदा मलाई कराउन सक्नुहुन्न । रिसको झोंकमा हान्नुभएको हो । त्यसलाई अन्यथा लिनुहुन्न ।’ अघिल्लो रात आमासँग रिसाए पनि भोलिपल्ट उनकै अगाडि झुक्नैपर्थ्यो । किनकि पैसा त आमासँगै माग्नुपर्थ्यो ।

सुहाङ बेलाबेला समयका हिस्साहरू छुट्याइबस्छन् । औंलाले गनिबस्छन् । त्यतिबेला झल्याँस्स हुन्छन्, ‘मैले त बुबालाई आधा जीवन नै देख्न पाएको रहेनछु ।’ जीवनको अधिकांश समय उनले आमासँगै बिताए । बा भ्रमणमा कतै पुगेको बेला दिदीभाइलाई नियास्रो लाग्थ्यो । बा पर्खेर आमासँग रुँदै सोध्थे, ‘बुबा कहाँ हुनुहुन्छ ? कहिले आउनुहुन्छ ।’ बाको प्रतीक्षामा रोइरहेका छोराछोरीलाई विशाल सम्झाउँथिन् ।

विशालसँग गुनासो थिएन, केवल प्रेम थियो सुवाससँग । उनी पर्खन सक्थिन् । धैर्य गर्न सक्थिन् । विस्तारै त्यो बानी छोराछोरीमा पनि सर्‍यो । ‘कहिलेकाहीं पारिवारिक रूपमा कतै घुम्न जाँदा ठिक्क परिन्थ्यो । त्यही बेला बाको काम पर्थ्यो, जानैपर्थ्यो । हामी एक अर्कालाई हेर्दै हाँस्थ्यौं,’ सुहाङ आफूहरूलाई बानी परिसकेका दिन सम्झन्छन् । बुबासँगै हुँदा आमा सुवासलाई जिस्काउँथिन्, ‘तपाईंले समय नदिँदा पनि मैले बुझेकै हो ।’ सुवास प्रशंसाका शब्द बटुल्दै भन्थे, ‘अँ, तिमीले त बुझेकै हौ ।’

आमाले व्यवसायमा पनि हात हालिन् । कतिपटक त असफल पनि भइन् । एक दिन बासँग सल्लाह भयो, ‘राजनीतिक परिवारले व्यवसायमा हात हाल्दा धेरै प्रश्न उठ्छ ।’ त्यसपछि उनले व्यवसायबाट हात झिकिन् । बा नहुँदा कहिलेकाहीं डेरा भाडा तिर्न समय लाग्थ्यो । त्यतिबेला आमाको घरबेटीसँग विवाद हुन्थ्यो । थाहा पाएपछि बाले सम्झाउँथे । आमा भन्थिन्, ‘यहाँ सबै जनासँग कुरा गर्ने मैले हो । तपाईंले कुरा गर्दा कथंकदाचित् कसैले केही भन्यो मलाई नराम्रो लाग्छ ।’

सुहाङसँग बाल्यकालीन स्मृति सुरक्षित छन् । उनी उघार्दै जान्छन् । बढीजसो घट्टेकुलोमै रहँदाको प्रसंग झिक्छन् । त्यतिबेला आफूलाई कसैले दुःख दिएको आमा सहन सक्दिन थिइन् । साथीले भन्थे, ‘यसलाई केही नगर । यो त विशाल आन्टीको छोरा हो ।’ यदि छोराछोरीलाई केही गरिहालेमा आमा टोल थर्कने गरी गर्जन्थिन् । सुहाङको रुचि खेलकुदमा थियो । आमाको ध्यान पढाइमा । यद्यपि, सुहाङले दौड जितेर आउँदा होस् वा फुटलबमा मेडल ल्याउँदा, आमा गर्वले छाती फुलाउँदै ती अमूल्य सामान हिफाजतका साथ राख्थिन् ।

सुहाङलाई सानैदेखि राजनीतिप्रति रुचि थियो । ०६८ सालमा एमालेको पार्टी सदस्यता पनि लिए । यद्यपि बाले छोरालाई एउटा सर्त राखेका थिए, ‘कुनै राजनीतिक र सरकारी नियुक्तिमा न तैंले मलाई भन्छस् । न म तँलाई गराइदिन्छु ।’ उनले बाको सर्त माने । बाको राजनीतिक यात्रामा सक्दो सहयोग गरे । सुवासले जस्तै सुहाङले पनि कानुन विषय लिएरै पढे, मास्टर्स गरे । उनले २०७४ सालतिर बाको ल फर्म छाडेर साझेदारसँग आफ्नै ल फर्म सुरु गरे ।

सुहाङ राजनीतिमा प्रवेश गर्नेबारे बाआमाको सल्लाह हुन्थ्यो । उनी बुबासँग ठट्टा गर्थे, ‘तपाईंले राजनीति गर्ने कुनै पनि ठाउँ छाड्नुभएन । न्यायपालिका, कार्यपालिका ध्वस्त बनाइसक्नुभयो । यो ध्वस्त भएको ठाउँ सम्हाल्न नयाँ पुस्ता आउनुपर्ने हो  ?’ बुबा मुसुक्क हाँसिदिन्थे । थप ठट्यौली सुनिन्थे, ‘छोरा हेर्दै जा । मेरो शेषपछि तँलाई मेरै साथीले राजनीतिमा ल्याउँछन् ।’ बाले त्यसो भन्नासाथ आमा रिसाउँथिन् । गाली गर्थिन्, ‘किन यस्तो कुरा गर्नुहुन्छ रु अस्तिसम्म त ९० वर्षसम्म बाँच्छु भन्नुभाको हैन ।’

सुहाङलाई राजनीतिमा आउनु त थियो । त्यसकारण बाबाट थुप्र्रै कुरा सिक्न चाहन्थे । ०८० तिर, सुहाङ वर्ल्ड कप हेर्न अस्ट्रेलिया जाँदै थिए । जाने बेला आमालाई भने, ‘राम्रोसँग बस्नु ।’ कुन्नि किन हो, बालाई चाहिँ अँगालो मार्दै रोए । सुवासले प्रेमले सम्झाउँदै भने, ‘एक महिनाका लागि जाँदा किन रोएको रु’ तर बुबासँगको त्यही अंकमाल सुहाङका लागि अन्तिम भइदियो ।

अस्ट्रेलिया पुगेको १५ दिनमै बा बितेको अप्रिय समाचार आयो । त्यसपछि बेहोसीमै नेपाल आइपुगेका सुहाङले बाको शव हेरेपछि सिधै आमाकहाँ गए । आमा सुहाङको प्रतीक्षा गरिरहेकी थिइन् । उनी दौडेर आइन्, अनि सुहाङलाई अँगालो हाल्दै भक्कानिएर भनिन्, ‘छोरा, बुबाले त छाडेर जानुभयो ।’

त्यतिबेला सुहाङभित्र के बितेको थियो ? उनी सम्हालिँदै सम्झन खोज्छन्, ‘त्यो बेला बोध भयो कि म आफैं रोएँ भने उहाँहरू कमजोर पर्नुहुन्छ । त्यस दिनदेखि अहिलेसम्म मैले बुबा सम्झेर रोएको छैन । यो छातीलाई हल्का बनाउने काम गरेको छैन ।’ त्यो उकुसमुकुसलाई आजका दिनसम्म बोकेर हिँडेका छन् सुहाङ । थाहा छैन, कुन बेलामा पोखिन्छ । अनि उनी भक्कानिएर रुन्छन् ।

बा गुमाएपछिको घाउले अहिले पनि दुखाउँछ सुहाङको परिवारलाई । बालुवाटारस्थित घरमा बाको कोठामा आजसम्म पनि कोही छिर्न सकेको छैन । ‘कोठामा मात्र हैन, म दलको कार्यालयमा गएर उपनेताको कार्यकक्षमा अहिलेसम्म पसेको छैन । कोही उपनेता बनिहाल्नुभयो भने बरु बाहिरै भेट्छु तर त्यहाँ जान सक्दिनँ,’ सुहाङ मलिन स्वरमा भन्छन् । सुहाङ ठान्छन्– बा गएपछि आमाले धेरैथोक गुमाइन् । विशाल बाका लागि के मात्र गर्दिन थिइन् । ‘जे कुरा पनि बुबाकै वरिपरि गर्नुहुन्थ्यो । बुबाको रुचिअनुसार घरमाथि ड्रागन फ्रुट, अम्बा रोप्नुभएको थियो,’ सुहाङ सम्झेर भावुक हुन्छन् ।

बाको सम्झनाले डसिरहन्छ आमालाई । बेलाबेला विचलित आमालाई देखेर उदास बन्छन् सुहाङ । उनी सम्झाउँछन्, ‘समय छ, तपाईं व्यवसाय गर्नतिर लाग्नुस् ।’ विशालले सुवासको हरेक सामान हिफाजत गरेर राखेकी छन् । बाको निधनपछि धेरैले सुहाङलाई राजनीतिमा आउन सुझाए । केही समयसम्म त आमाले भनिन्, ‘छोरो अझै बाको निधनको पीडामै छ । ठीक भएपछि कुरा गरौँला ।’ सुहाङका लागि अवसरको ढोका पनि नजिक थियो । ०७९ मा इलाम क्षेत्र नम्बर २ बाट सुवास निर्वाचित भएका थिए । उनको निधनपछि रिक्त भएको उक्त ठाउँमा पार्टीले सुहाङलाई टिकट दिने भयो । आमा विशालले भनिन्, ‘तिम्रो लागि माहोल पर्खिरहेको छ । तिमी जानुपर्छ ।’

हुन त सुहाङलाई रोक्नेहरू पनि आए । तिम्रो बेला भएको छैन भनेर हतोत्साहित गर्न पनि खोजे । तर सुहाङले अडान लिए, ‘अवसर आएको छ भने खुट्टा कमाउँदिनँ ।’ बा हुँदासम्म सानाभन्दा साना कुरा पनि सोध्ने साथी थिए सुहाङका लागि । बा त गए । तर बाको ठाउँ अहिले आमाले ओगटेकी छन् ।

उनको हरेक राजनीतिक यात्रामा आमाले सघाउँछिन् । त्यो अवस्थामा बाले गरेको सही निर्णयको उदाहरण दिँदै भन्छिन्, ‘तिमीले पनि त्यसै गर्दा उचित हुन्छ ।’ कतिपय बेला सुहाङ तनाबिलो देखिन्छन् । आमाले चाल पाइहाल्छिन् ।  अनुहार हेरेरै छोराको दुःख पढ्न सक्ने आमा सान्त्वना दिन्छिन्, ‘तिमीलाई तनाव लागिरहेको होला । तर यस्तो बेलामा बुबाले सन्तुलन यसरी मिलाउनुहुन्थ्यो ।’ आमाका सुझावले कत्ति गर्दा पनि नजुरेका उपाय जुर्छन् सुहाङलाई ।

उपनिर्वाचनको मैदानमा लड्न उभिएका सुहाङलाई निर्वाचन अवधिभरि आमाले साथ दिइन् । आमा, दिदी र बहिनी उनको साथ लागेर इलाम पुगे । जब सुहाङले चुनाव जिते । समर्थक र मतदाताले खुसीको उत्सव मनाए । जितेर आमासामु उभिएको छोरालाई देखेपछि आमा बालाई सम्झिन पुगिन् । अनि आफूलाई सम्हाल्न सकिनन् । ‘त्यो यात्राभर आमा रोइरहनुभयो,’ सुहाङ सम्झन्छन् ।
अहिले पनि आमा थकित भएर घर पुगेका छोरासँग कुरा गर्न पर्खिरहेकी हुन्छिन् । भेट हुनासाथ भन्छिन्, ‘छोरा यहाँ आइजो न । एउटा कुरा गरौँ ।’

अनि सामाजिक सञ्जालमा आएका कुनै नेताको विवादित भिडियो देखाउँदै भन्छिन्, ‘तैँलेचाहिँ यस्तो नगर है ।’ पहिला पहिला राजनीति गरेर बा घर फर्किँदा आमा युट्युबमा सुवासबारे आएको फेक कन्टेन्ट देखाउँदै चिन्तित लवजमा सोध्थिन्, ‘बाबा, यस्तो भन्दै छ त, के हो  ?’ त्यतिबेला सुवास मुसुमुसु हाँस्दै भन्थे, ‘यसलाई फिल्टर गरेर हेर्नुपर्छ ।’

अहिले यही कुरा सुहाङमा दोहोरिएको छ । सुहाङ निर्वाचित भएपछि कोशी प्रदेशको गोष्ठी कार्यक्रममा एउटा भाषण गरेका थिए । एउटा युट्युब च्यानलमा उनले भाषण गरेको पुष्पकमल दाहालले सँगै बसेर सुनिरहेको बनाइएको रहेछ । त्यो फेक भिडियोलाई साँचो मानिरहेकी आमाले पुलकित हुँदै भनिन्, ‘प्रचण्डको अगाडि तैंले यस्तो भनिस् है । अंकललाई नमस्कार गरिस् कि गरिनस् ?’

सुहाङ छक्क परे । आमाले देखाएको भिडियो हेरे । त्यो फेक थियो । भने, ‘आमा यो कार्यक्रममा उहाँ आउनुभएकै छैन । फेक हो ।’ खुसी देखिएकी आमाको अनुहार अचानक मलिन भयो । सम्झाउँदै सुहाङले बालेजस्तै गरी भने, ‘यस्तो भिडियोहरू फिल्टर गरेर हेर्नुपर्छ ।’

सुहाङले सदनमा बोल्ने समय पर्खेर बस्छिन् विशाल । सोध्छिन्, ‘अब कहिले बोल्छस् रु’ सुहाङले बोलेको दिन आमालाई आएर भनिरहनु पर्दैन । उनले पहिल्यै हेरिसकेकी हुन्छिन् । सुहाङले दुईवटा शून्य समय सदुपयोग गरेनन् । शून्य समयमा नबोल्दा आमाले भनिन्, ‘तेरो बोल्ने पालो थियो । किन नबोलेको  ?’ अहिले त सुहाङकै हरेक गतिविधि हेर्न उनले फेसबुक खोलेकी पनि छन् ।

सुहाङलाई सबैभन्दा बढी प्रश्न कसैले गर्छ भने आमाले गर्छिन् । सबैभन्दा बढी प्रेम कसैले गर्छ भने आमाले गर्छिन् । सबैभन्दा बढी भरोसा कसैले गर्छ भने आमाले गर्छिन् । त्यसकारण उनी आमाले गरेको विश्वास र दिएको संस्कारलाई सधैं मनन गरिरहन्छन् । ‘कहिलेकाहीं रिस उठ्यो भने पनि बुबा र आमाको अनुहार झल्झली याद आउँछ,’ सुहाङ शालीन मुद्रामा भन्छन्, ‘त्यसकारण म कहिल्यै उहाँहरूको शिर झुकाउने मौका दिने छैन ।’ इकान्तिपुरबाट साभार

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *