मोरङ — नेपाली कांग्रेस संसदीय दलका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको कानुन, नीतिनिर्माण र बजेट निर्माणका क्रममा देखा परेका समस्याहरू समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।
संघीय संसद् राष्ट्रियसभा सचिवालयको आयोजनामा आज मोरङमा सम्पन्न राष्ट्रियसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षबीचको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले संघीयताको कार्यान्वयनका क्रममा विभिन्न समस्या देखिएको उल्लेख गर्दै त्यसबारे राष्ट्रियसभाको पूर्ण बैठकमा छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिए।
पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले संविधानअनुसार तीन तहको सरकार गठन भइसकेको उल्लेख गर्दै स्थानीय तहले समग्र रूपमा जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले स्थानीय तहमा देखिएका समस्या, कानुन कार्यान्वयनलगायत विषयमा प्राप्त सुझावलाई व्यवहारमा उतारिने धारणा राखे।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता गोपीबहादुर सार्की अछामीले कार्यक्रमको उद्देश्य कानुन निर्माणमा तीन तहबीचको क्षेत्राधिकार, प्रशासनिक संघीयता तथा जनशक्ति व्यवस्थापनजस्ता विषयमा जानकारी लिनु रहेको स्पष्ट पारे।