दिपेन्द्र लुईटेल भोजपुर । भोजपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले मानवीय संवेदनालाई आत्मसात् गर्दै एक विद्यार्थीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थी संगम विश्वकर्माका बुवाको बिरामी उपचारका लागि स्ववियुले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको हो।
“भाषण होइन, सेवा” भन्ने सन्देशका साथ स्ववियुले विद्यार्थीको सुख–दुःखमा साथ दिने आफ्नो दायित्वलाई व्यवहारमा उतारेको जनाएको छ। स्ववियुका अनुसार विद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूबाट संकलन गरिएको रु. १६,५२०/- रकम बिरामीको उपचारका लागि धरानस्थित घोपा क्याम्पमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै स्ववियु सभापति सोबिन तामाङले स्ववियु केवल संगठन मात्र नभई विद्यार्थीको सुख–दुःखको साथी भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।उनले भने, “स्ववियु विद्यार्थीको सुख–दुःखको साथी हो, आवश्यकता पर्दा साथ दिनु हाम्रो कर्तव्य हो।”
स्ववियुको यस सकारात्मक र उदाहरणीय कार्यको चौतर्फी प्रशंसा गरिएको छ।
















