झापा— झापाका १३ वटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्चस्व कायम गरेको छ। नेविसंघले ९ क्याम्पसमा जित हात पार्दै पहिलो संगठन बन्न सफल भएको छ। एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा जित निकाल्दा राप्रविसंघले १ क्याम्पसमा सभापति पद हात पारेको छ। माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले भने एक क्याम्पसमा पनि जित निकाल्न सकेन।
झापाको सबैभन्दा ठूलो र केन्द्रीय क्याम्पस मानिने मेची बहुमुखी क्याम्पसमा पहिलो पटक महिला नेतृत्व चयन भएको छ। सभापतिमा नेविसंघकी निलम कार्की निर्वाचित भएकी छन्, जसले क्याम्पस इतिहासमै पहिलो महिला सभापति बन्ने गौरव हासिल गरिन्। यसैगरी, दमक बहुमुखी क्याम्पसमा पनि नेविसंघको जित भएको छ, जहाँ भूपेन्द्र बस्नेत (भुवन) सभापति निर्वाचित भए।
अन्य नेविसंघ विजयी क्याम्पसहरूमा कनकाई क्याम्पस सुरुङ्गामा वासुदेव निरौला, कनकाई आदर्श क्याम्पस बिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा श्रीजित ढुङ्गाना, शनिश्चरे क्याम्पस अर्जुनधारामा विशाल थापा, काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव निर्वाचित भएका छन्।
एमाले निकट अनेरास्ववियुले ३ क्याम्पसमा सभापति जितेको छ, जसमा त्रिदेव बहुमुखी क्याम्पसमा ईश्वर रिजाल, सितारामेश क्याम्पस बुद्धशान्तीमा अशोक भण्डारी, गौरादह बहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएका छन्। यस्तै, बिर्तामोडको गरामनी क्याम्पसमा राप्रविसंघका केशव खरेल सभापति निर्वाचित भएका छन्।
यसपटकको स्ववियु निर्वाचनमा नेविसंघको प्रभावशाली उपस्थिति देखिएको छ भने अनेरास्ववियु (क्रान्तिकारी) को शून्य नतिजाले विद्यार्थी राजनीतिमा नयाँ संकेत गरेको विश्लेषण गरिएको छ।



















