काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने हुँदा विद्यार्थी संगठनहरू अन्तिम दिनसम्म प्रचार अभियानमा व्यस्त रहे।
हालसम्म देशभरका ८२ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ। जसमा नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) दोस्रो स्थानमा आएको छ।
तर, १८ वटा आङ्गिक क्याम्पसमा भने निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेको छैन। विद्यार्थी संगठनहरूबीच उत्पन्न विवादका कारण त्रिभुवन विश्वविद्यालयका यी क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए।
निर्देशक अधिकारीका अनुसार देशभरका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ५ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते (मार्च १८) एकैदिन निर्वाचन हुने तालिका रहेको छ।