आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि राप्रविसको तर्फबाट निगम न्यौपानेले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनी सितारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्ष (पुरानो) अध्ययनरत छन् र विद्यार्थी हकहितका विभिन्न मुद्दासहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
उम्मेदवारी घोषणासँगै न्यौपानेले सहज र गुणस्तरीय शिक्षाको प्रवर्द्धन, छात्रवृत्तिको पहुँचलाई सरल बनाउन पहल गर्ने तथा क्याम्पस प्रशासनसँग सहकार्य गर्दै विद्यार्थीलाई आवश्यक सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

उनले विद्यार्थीको प्रतिभा उजागर गर्न अनुकूल वातावरण तयार गर्ने, पाठ्यक्रमका पूरक कार्यक्रमहरू सञ्चालन गरी व्यक्तित्व विकासमा जोड दिने तथा छात्रवृत्तिको कोटा विस्तारका लागि क्याम्पस प्रशासनसँग सहकार्य गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए।
“विद्यार्थीका मागहरू शालीन तरिकाले प्रशासनसमक्ष प्रस्तुत गर्दै, उनीहरूको हक र अधिकार सुनिश्चित गर्न म लागिपर्नेछु,” उनले भने।
स्ववियुलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राख्दै राष्ट्रप्रेमी, व्यावहारिक र जागरूक विद्यार्थी उत्पादन गर्नुपर्नेमा उनको विशेष जोड छ। “स्ववियु सबै विद्यार्थीको साझा संस्था हो, त्यसैले निर्वाचनपछि निष्पक्ष रूपमा यसको सञ्चालन हुनु आवश्यक छ,” उनले थपे।
स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ, जसमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। सचिव पदका लागि अनेरास्ववियुबाट नितु थापा मगर, नेविसंघबाट डम्बर कार्की, अखिल क्रान्तिकारीबाट नेहा कार्की तथा राप्रविसबाट निगम न्यौपाने चुनावी मैदानमा छन्।