बुद्धशान्ति। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले झापाको बुद्धशान्ति अस्पतालले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको नाम सम्बन्धी समस्या तुरुन्त समाधान गरिदिने वचन दिएका छन्।
पाँचथरबाट इलाम हुँदै काठमाडौं फर्कने क्रममा आइतबार झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको निरीक्षण गर्दै मन्त्री पौडेलले उक्त विषयमा चाँडो निर्णय लिने प्रतिबद्धता जनाएका हुन्।
उनले भने, “सबै पालिकाहरूले सञ्चालन गरेका अस्पतालहरूको नाममा एकरूपता हुनु राम्रो हो। तर यहाँ विशेष परिस्थिति रहेछ। जनताको माग पनि यही भएकाले म तुरुन्त समाधान गर्छु।”
स्वास्थ्य मन्त्रालयले हालसम्म भागिरथा बुद्धशान्ति अस्पतालको नाम आधिकारिक रूपमा स्वीकृत गरिसकेको छैन। जबकि, सो अस्पतालका लागि प्रथम महिला प्रधानपञ्च भागिरथा न्यौपानेको नाममा उनका परिवारले १५ कठ्ठा जमिन दान दिएका थिए।
मन्त्री पौडेलले यदि सम्भव भए आइतबार नै, नभए सोमबारसम्ममा मन्त्रिपरिषद्बाट निर्णय गराउने आश्वासन दिएका छन्।