स्वास्थ्य बीमाको पहुँच बढ्दो : झापामा साढे सात लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

तीर्थराज तिम्सिना,
बुद्धशान्ति ।
नेपाल सरकारले सामाजिक सुरक्षा अन्तर्गत सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा मंसिर मसान्त सम्ममा झापाका सात लाख ५६ हजार पाँच सय ८९ जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाकी सुचना अधिकारी राधा रिमाल अधिकारीका अनुसार पछिल्लो समय स्वास्थ्य बीमामार्फत सेवा पु¥याउने अस्पताल तथा उपचार केन्द्र प्रशस्त भएका कारण झापामा सरकारको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताएकी छिन् ।

झापा जिल्लामा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा बढी संख्यामा सहभागी भएको जिल्ला समेत रहेको छ । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सबैभन्दा बढी दमक नगरपालिकाका नागरिकहरु बीमामा आबद्ध भएका छन् भने सबैभन्दा कम झापा गाउँपालिकाका नागरिकहरु आबद्ध भएका सुचना अधिकारी राधा रिमाल अधिकारीले बताइन् । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध लाभग्राहीमध्ये ठूलो संख्याले सरकारी तथा सूचीकृत निजी स्वास्थ्य संस्थाबाट सेवा लिएको तथ्यांकले देखाउँदै आएको छ ।

EPIC EPIC EPIC

कुन पालिकामा कति आबद्ध ?
जिल्लामा हालसम्म सबैभन्दा बढी बिमितको संख्या दमक नगरपालिकामा रहेको छ भने कम संख्या झापा गाउँपालिकामा रहेको छ । दमकमा एक लाख १४ हजार २७२ जना र सबैभन्दा थोरै बिमित रहेको झापा गाउँपालिकामा १६ हजार सातसय ९६ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् । यसैगरी, अर्जुनधारा नगरपालिकामा ५४ हजार नौ सय ७९, भद्रपुरमा ५८ हजार आठ सय ९२, बाह्रदशी गाउँपालिकामा २१ हजार आठ सय ३८, बिर्तामोडमा ८७ हजार नौ सय ४१, बुद्धशान्ति गाउँपालिका ४२ हजार चार सय २ र गौरादह नगरपालिका ५० हजार एक सय ७६ जना बिमित रहेका छन् ।

गौरीगञ्ज गाउँपालिकामा २१ हजार पाँच सय २२, हल्दिबारीमा २७ हजार एक सय ५५, कचनकवल गाउँपालिकमा २८ हजार एक सय ५४, कमल गाउँपालिकामा ५० हजार चार सय ११, कनकाई नगरपालिकामा ४४ हजार दुई सय ९०, मेचीनगरमा ७७ हजार चार सय ६५ र शिवसताक्षीमा ६० हजार दुई सय ९६ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापाका कर्मचारी केशवराज अधिकारीले बताएका छन् ।

विपन्नका लागि बीमा प्रभावकारी
सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेसँगै विपन्न नागरिकहरुका लागि स्वस्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । बिर्तामोडस्थित मेची आँखा अस्पतालमा बीमाबाट स्वास्थ्य उपचार गराउँदै आएकी बुद्धशान्ति–३ की देवीमाया पोखरेलले स्वास्थ्य बीमाले गर्दा थोरै खर्चमा उपचार गराउँदै आएको बताइन् । उनले आफु पाँचबर्ष देखि नियमित बीमा नवीकरण गरेर उपचार सेवा लिइरहेको बताइन् । यता बीमा बोर्ड सम्पर्क कार्यालय झापाका कर्मचारी केशवराज अधिकारीले पनि जिल्लामा नवीकरण गर्नेको संख्या बर्षेनी बढ्दै गइरहेको बताएका छन् । उनले जिल्लामा स्वास्थ्य बीमाबाट पाउने सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएकाले पनि नवीकरण गर्नेको संख्यासमेत वृद्धि भइरहेको बताए ।

कर्मचारी अभाव
स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय झापामा नौ जना कर्मचारीको दरबन्दी भएतापनि सात जना मात्रै कर्मचारी हुँदा सेवा दिन समस्या परेको गुनासो पोखेका छन् । कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा पालिकाहरु र स्वास्थ्य सेवा प्रदायक संस्थासँग आवश्यक समन्वयको अभाव भइरहेको उनीहरुको भनाई छ । सात जना कर्मचारीले जिल्लाको सिंगो १५ वटा पालिकाको सात लाख बढी नागरिकको स्वास्थ्यको जिम्मा लिनुपर्ने भएकाले पनि सोचेजस्तो कार्य गर्न नसकिएको बताए ।

भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या
स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको अस्पतालका सञ्चालकहरुले बताउँदै आएका छन् । स्वास्थ्य बीमाको भुक्तानीले गर्दा स्वास्थ्य बीमा कार्यक्रम नै प्रभावकारी हुन नसक्ने सरोकारवालाहरुले बताउँदै आएका छन् । यता स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले बोर्ड परनिर्भर बन्दा कार्यक्रम प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन् । उनका अनुसार बोर्डले वार्षिक करिब पौने ४ अर्ब प्रिमियम उठाउँछ भने अस्पतालहरूले बुझाउनुपर्ने भुक्तानी १४ अर्बसम्म पुग्छ । श्रेष्ठले भने, हरेक वर्ष १० अर्ब बराबरको भुक्तानी स्वास्थ्य बीमाबाट तिर्नुपर्दा धान्नै नसक्ने स्थिति आएको छ । भुक्तानी माग र आम्दानीबीच करिब ७५ प्रतिशतको ठूलो ग्याप छ, यस्तो अवस्थामा कार्यक्रम अघि बढाउन कठिन हुन्छ । यसलाई घटाउन ऐनअनुसार संगठित संस्थाका सदस्यलाई स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गराउनुपर्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *