काठमाडौं । नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ (हर्कराज राई) का कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ ।
आज धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै महासंघले मेयर राईले अधिकार दुरुपयोग गर्दै आफूलाई कानुनभन्दामाथि राख्न खोजेको निष्कर्ष निकालेको हो । महासंघले केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा निष्कर्ष निकालिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
राईले सामाजिक सञ्जालमा उनको गलत कार्यको समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै धम्कीपूर्ण सामग्री सार्वजनिक गरेर समर्थकहरूलाई पनि हौसाएको महासंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महासंघले पत्रकार गोपाल दाहाललाई ज्यान मार्नेसम्मको धम्की दिइएको घटनाले पत्रकारिता तथा पत्रकारको सुरक्षा र स्वतन्त्रता जोखिममा परेको प्रष्ट पार्ने उल्लेख गरेको छ ।