हल्दिबारी।
गरिमा एग्रोले झापाको हल्दिबारीका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ-१ जातको धानको बीउ वितरण तथा उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
हल्दिबारीको मंगलबारे बजारमा आयोजित विशेष कार्यक्रममा २५ प्रतिशत कृषक र ७५ प्रतिशत गरिमा एग्रोको लागत सहभागितामा १३५ जना कृषकलाई २० केजीका दरले धानको बीउ वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता गरिमा एग्रोका प्रोपाइटर मान प्रकाश संग्रैलाले गरेका थिए। कार्यक्रममा गत वर्ष गरिमा एग्रोले वितरण गरेको बीउबाट उत्कृष्ट उत्पादन गरेका १६ जना कृषकलाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूलाई झुल वितरण गरिएको थियो।
उत्कृष्ट कृषकहरूले गरिमा एग्रोले उपलब्ध गराएको बीउ स्थानीय मौसम र माटोको अनुकूल प्रजाति भएकाले यसले राम्रो प्रतिफल दिएको अनुभव सुनाए। कार्यक्रममा धनपति अधिकारीले गरिमा एग्रोले गत वर्ष वितरण गरेको बीउले उल्लेखनीय उत्पादन दिएको जानकारी गराएका थिए। कर्णाली बचत तथा ऋण सहकारीका केन्द्रिय सचिव भूपाल बस्नेतले गरिमा एग्रोले कृषि क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
स्वागत मन्तव्य टीका संग्रैलाले राखेका थिए भने कार्यक्रम सञ्चालन अञ्जु पन्तले गरेकी थिइन्। गरिमा एग्रोका प्रोपाइटर मान प्रकाश संग्रैलाले बीउ उत्पादन मात्र नभई गुणस्तरका लागि पनि ध्यान दिनु आवश्यक रहेको बताउँदै भविष्यमा कृषकहरूका लागि विभिन्न सहुलियत योजना सञ्चालन गर्न प्रतिबद्ध रहेको घोषणा गरे। यो कार्यक्रमले कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्न र गुणस्तरीय बीउको महत्व बुझाउन ठूलो सहयोग गरेको विश्वास गरिन्छ।