हल्दिबारी। झापाको हल्दीवारी गाउँपालिका–४, ओली चोकमा आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८:४० बजे ६० वर्षीय पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलास्थित भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास चुहावट भई अचानक आगलागी भएको हो।
आगो निभाउने क्रममा घरधनी ओलीसहित उनका दुई छोरा र बुहारी घाइते भएका छन्। घाइतेमध्ये पुण्यप्रसाद ओलीको शरीरका विभिन्न भागमा गम्भीर रूपमा पोलेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ। अन्य घाइतेहरूमा ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली रहेका छन्, जसको शरीरमा सामान्य रुपमा पोलेको छ र अवस्था सामान्य छ।
प्रारम्भिक उपचारका लागि उनीहरूलाई ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा लगिएको थियो भने पुण्यप्रसाद ओलीलाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ। आगलागीबाट घरको भान्सा कोठामा मात्र आंशिक क्षति पुगेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनश्रीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहकार्यमा आगो बिहान ९:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।