हल्दीबारी। हल्दीबारी गाउँपालिकाको १९औं गाउँसभा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथि कोशी प्रदेशका सांसद छविलाल चुडाल रहेका थिए। गाउँसभामा चालु आर्थिक वर्षका लागि कृषि, स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू पारित गरिएको छ।
कृषि क्षेत्रमा किसानमुखी कार्यक्रम:
गाउँपालिकाले कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्दै ५० प्रतिशत लागत साझेदारीमा उपकरण उपलब्ध गराउने जनाएको छ। प्राङ्गारिक मल उत्पादनमा साझेदारीसहित ‘स्वस्थ माटो, बढ्दो बाली’ अभियान, बालीनालीमा रोग कीरा नियन्त्रण शिविर, सामुदायिक नर्सरी स्थापना, हल्दीबारीको ‘हल्दी कार्यक्रम’ र पशु महामारी रोकथाम तथा जनचेतनामूलक कार्यक्रम समावेश गरिएका छन्। साथै, दूध र मासुजस्ता कृषिजन्य उत्पादनको निर्यात प्रवर्द्धन तथा चिस्यान केन्द्र स्थापनाका लागि पहल गरिनेछ।
शिक्षामा गुणस्तर अभिवृद्धि:
कक्षा १२ सम्मको निशुल्क शिक्षालाई निरन्तरता दिँदै सबै विद्यालयमा घुम्ती कम्प्युटर शिक्षक परिचालन गरिनेछ। विद्यार्थीहरूसँग जनप्रतिनिधिको प्रत्यक्ष संवाद कार्यक्रम, दलित, आदिवासी तथा लोपोन्मुख समुदायका जेहेन्दार विद्यार्थीलाई साइकल वितरण र शिक्षक तालिम कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्य सेवामा पहुँच र प्रभावकारिता:
सबैका लागि आधारभूत स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी बनाउन पहल गरिनेछ। प्रसूति पोषण प्रोत्साहन, जनता उपचार कोष, आकस्मिक सेवा, र रेडक्रससँग सहकार्यमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था रहनेछ। बालमैत्री, पोषणमैत्री तथा क्षयरोगमुक्त पालिका निर्माणका लागि चरणबद्ध कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ।
भौतिक पूर्वाधार र वातावरण संरक्षण:
गाउँपालिकाले सबै वडामा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। बालमैत्री पालिका घोषणाका लागि कार्यक्रमहरू, सामुदायिक वनहरूसँग सहकार्यमा वातावरणीय कार्यक्रम र सहकारी व्यवस्थापन सम्बन्धी तालिम पनि समावेश गरिएको छ।
अन्य महत्वपूर्ण निर्णयहरू:
गाउँसभाबाट अब पालिकाको औपचारिक कार्यक्रममा राष्ट्रगानपछि पालिका गान गाउने निर्णय गरिएको छ। उपाध्यक्ष लक्ष्मीदेवी मैनालीद्वारा प्रस्तुत ‘विनियोजन विधेयक’ र ‘आर्थिक विधेयक २०८२’ सर्वसम्मत रूपमा पारित गरिएको छ।
सभामा हल्दीबारी वडा नं. ४ का वडा सचिव जयप्रसाद पोखरेल र हल्दीबारी स्वास्थ्य चौकीका प्रमुख रामप्रसाद ढकाललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो। दुबैजना आगामी साउनदेखि अवकाशमा जाँदै छन्।
कार्यक्रम गाउँसभा अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो। बजेट तथा कार्यक्रमहरू पालिकाका प्रवक्ता देवीबहादुर थापाले प्रस्तुत गरेका थिए।