झापा । हल्दीबारी गाउँपालिका वडा नं ४ ले सोमबार एक कार्यक्रमका बीच कृषकलाई विभिन्न कृषि औजार वितरण गरेको छ।
५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएका औजारहरूमा स्प्रे ट्याङ्की, ह्वील ब्यारो, फलामे हलो, झार तान्ने मेसिन लगायतका सामग्री समावेश छन्।

वडा कार्यालयले दुई लाख रुपैयाँ तथा कृषकहरूको लागत साझेदारीमा थप दुई लाख संकलन गरी चार लाख रुपैयाँको बजेटबाट कृषि यन्त्र उपकरण वितरण गरिएको वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिए।

कार्यक्रममा वडा नं ४ का अध्यक्ष थापाको अध्यक्षता रहेको थियो भने हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए। उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य सुरेन्द्र बाराकोटी, वडा नं १ का सदस्य प्रकाश कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले हल्दीबारीका अधिकांश जनता कृषि पेशामा आबद्ध रहेको उल्लेख गर्दै कृषि प्रविधिलाई आधुनिक बनाउन वडाले चालेको कदम सराहनीय भएको बताए। साथै, कृषकहरूलाई उपकरणको सही उपयोग गर्न सुझाव दिए।

वडा अध्यक्ष थापाले कृषकहरूको मागका आधारमा यन्त्र उपकरण वितरण गरिएको बताउँदै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रममा उपाध्यक्ष मैनाली, वडा सदस्य बाराकोटी र वडा नं १ का सदस्य कार्कीले शुभकामना मन्तव्य राखेका थिए। कार्यपालिका सदस्य भगिरथा दाहालले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।