बुधबारे । बुद्धशान्ति गाउँपालिका वडा नम्बर – २ गोपालडाँडामा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न वाध्य भएका छन् । विद्यालयमा पर्याप्त रुपमा सुविधासम्पन्न भवनको अभावका कारण विद्यार्थीहरु बर्षादको शुरुवातमा हिलाम्य खुल्ला चौरमा पढ्न वाध्य भएका छन् ।

बर्षादको शुरुवातसँगै खुल्ला चौरमा बसेर पढ्दा विद्यार्थीहरुलाई अध्ययनमा निकै समस्या भएको विद्यालयका प्रधानाध्यापक लोक बहादुर माझीले बताएका छन् ।
नयाँ शैक्षिकसत्र आरम्भसँगै विद्यालयमा पर्याप्त भवनको अभावका कारण आवेदन दिएका मध्ये १६० जनालाई इन्टान्स लिइ भर्ना गरिएता पनि १८० जना विद्यार्थीहरुलाई फर्काइएको माझीले बताए । पर्याप्त भवन तथा जनशक्तिका कारण धेरै विद्यार्थीहरु फर्काउनु परेकोमा दुख व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन् ।

कक्षा नर्सरी देखि ८ सम्म ६०० विद्यार्थी रहेको विद्यालयमा दरबन्दीमा ९, फ्रेण्डसीप नेपालको सहयोगमा ३, गाउँपालिकाको स्रोतबाट २ , निजी अनुदानमा २ जना शिक्षक रहेका छन् । खेल मैदान, स्कुल बस, स्मार्ट कक्षा, ई लाइबेरी, स्वच्छ खानेपानी सहितको विद्यालय भएता पनि भौतिक पूर्वाधारको अभाव तथा जनशक्तिको अभावका कारण धेरैजसो विद्यार्थी भर्नाबाट अन्यत्र फर्किएका छन् भने भर्ना लिएका समेत खुल्ला आकाश बाहिर बसेर पढ्न बाध्य भएका छन् । स्थानीय निकायमा जनप्रतिनीधि भर्खर निर्वाचित भएकोले यथाशिघ्र चासो दिनु पर्ने स्थानीय अभिभावकहरु बताउँछन् ।




















