काठमाडौँ । नेपालले १२९ देशसँग घाटाको व्यापार गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कूल १५७ देशसँग वैदेशिक व्यापार गरेको नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।
समीक्षा अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा जम्मा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको हो ।
यद्यपि, अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घट्दा यता घाटा समेत केहीँ घट्न पुगेको भन्सार विभागले जनाएको छ । अघिल्लो वर्ष यसै ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेर ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको नेपालले ८ खर्ब २५ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । तुलनात्मक रुपमा यो वर्ष नेपालको व्यापार घाटा १.७७ प्रतिशतले घटेको छ ।



















