राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको परीक्षामा कुल १७ जना परीक्षार्थीको नतिजा रद्द गरिएको छ भने १३ हजार ५०२ जना विद्यार्थीले उच्चतम ३.६१ देखि ४ जीपीए (ए प्लस) ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
बोर्डका अनुसार परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न भएको पाइएपछि ११ जना नियमित र ६ जना आंशिकतर्फका गरी कुल १७ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
यसका साथै, दुईजना परीक्षार्थीलाई थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।
यस वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ परीक्षार्थी सहभागी भएकोमा २ लाख ४२ हजार ४६५ जना पास भएका छन् ।
आंशिकतर्फ सहभागी १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० जना पास हुन सफल भए । समग्रमा, कुल ५ लाख १० हजार ९८७ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
सार्वजनिक नतिजाको ग्रेड विवरणअनुसार, ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ छ । त्यस्तै, ५५ हजार ८९६ विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए (ए ग्रेड) हात पारेका छन् ।
९४ हजार २६८ जनाले २.८१ देखि ३.२० (बी प्लस), ६९ हजार ८१२ जनाले २.४१ देखि २.८० (बी), ८ हजार ९६४ जनाले २.०१ देखि २.४० (सी प्लस) र २३ जनाले १.६१ देखि २.०० (सी) ग्रेड प्राप्त गरेका छन् ।
यद्यपि, १ लाख ५३ हजार ८८२ जना परीक्षार्थी भने ‘नन-ग्रेडेड’ (एनजी) मा परेका छन्, उनीहरूले तोकिएको न्यूनतम ग्रेड हासिल गर्न सकेनन् ।
बोर्डले नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग (रि-टोटलिङ)को अवसर प्रदान गरेको छ । उनीहरूले प्रति विषय ५०० रुपैयाँ शुल्क तिरेर साउन २९ गतेभित्र अनलाइन आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।
साथै, नियमिततर्फ अन्य विषयमा न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरी दुई विषयसम्म ‘नन-ग्रेडेड’ भएका वा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउनेछन् ।