झापा – नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर २ बाट युवा कोटाका एकमात्र प्रतिनिधि छनोटका लागि बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेदवारी दिएका छन्।
एमालेले यसपटक ४० वर्ष मुनिका युवाका लागि छुट्टै कोटा निर्धारण गरेपछि महाधिवेशनमा युवा सहभागिता बढ्ने देखिएको छ। त्यही प्रक्रियाअन्तर्गत वाग्ले युवा प्रतिनिधि बन्न अघि बढेका हुन्।
करिब १५ वर्षसम्म पत्रकारिता–क्षेत्रमा सक्रिय रहेर राजनीतिमा प्रवेश गरेका वाग्ले जुझारु, सक्रिय र विकासमुखी जनप्रतिनिधि रूपमा परिचित छन्। प्रत्येक आर्थिक वर्षमा आफ्नो वडामा धेरै योजना र बजेट ल्याउन सफल हुँदै उनले जनप्रतिनिधि रूपमा सकारात्मक चर्चा कमाएका छन्।
उदयमान र तर्कसंगत युवा नेताका रूपमा पहिचान बनाइरहेका वाग्लेलाई संगठनभित्र वैचारिक दृढता र राजनीतिक परिपक्वता भएका युवा नेताका रूपमा हेरिने गरिएको छ।



















