बिर्तामोड। झापाको गौरादह–९ झमकचोककी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाइ फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय डिकबहादुर राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई आज विहान शिवसताक्षी–६ शिवगञ्जबाट नियन्त्रणमा लिइएको हो।
गत माघ महिनाको पहिलो हप्तामा राईले नाबालिगलाई डरत्रास देखाई करणी गरेको र त्यस क्रममा उनी गर्भवती भएको प्रहरीले जनाएको छ। पीडित परिवारले जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमामा जाहेरी दिएका थिए।
करीब दुई महिनादेखि फरार रहेका राईलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘जबरजस्ती करणी’को आरोपमा जिल्ला अदालत झापामा पेश गरी ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।