Search
Close this search box.
Search
Close this search box.

१९ सयलाई किर्ते गरी लाइसेन्स, फेल भएकालाई पास, पासलाई फेल !

काठमाडौँ । पछिल्लो एक वर्षमा आधा दर्जनभन्दा बढी यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल फेल भएका १ हजार ८ सय ९९ सय जनालाई पास गराएका छन् । काठमाडौं उपत्यकाभित्र र बाहिरका कार्यालयले ट्रायल फेल भएकालाई लाइसेन्स दिने गरी पास गराएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ ।  २०७२ यता जारी भएका मध्ये १ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेकै बेला गएको एक वर्षमा ट्रायल परीक्षामा फेल भएका परीक्षार्थीलाई प्रणालीमा किर्ते गरी पास गराएको पाइएको हो । विभाग स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी फेल भएकालाई पास गराउनेमा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पर्छ । उक्त कार्यालयले ५ सय २० जनालाई किर्ते गरी पास गराएको विभाग स्रोतको दाबी छ । केही–केही कार्यालयले पास भएकालाई फेल र फेल भएकालाई पास बनाएरसमेत प्रणालीमा तथ्यांक राख्ने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख राजकुमार कपाली भने ट्रायल फेल भएकालाई पास नगराएको दाबी गर्छन् । ‘यो हामीसँग सम्बन्धित नभएको हुन सक्छ । युजर आईडी विभागले चलाउने हो,’ उनले भने, ‘यो पुरानो तथ्यांक पनि हुन सक्छ । तैपनि अलि पहिला अख्तियारले विवरण मागेकाले सबै पठाइसकेका छौं । ट्रायल फेल भएकालाई पास गराएका छैनौं ।’ ‘१ लाख २ हजार लाइसेन्स नक्कली’ यातायात व्यवस्था कार्यालय, चाबहिलबाट २ सय २०, ठूलोभर्‍याङबाट ४ सय १२, जगाती भक्तपुरबाट ६४, बुटवलबाट १ सय ३१, इटहरीबाट ४ सय ७३ र कास्कीबाट ७९ जना ट्रायल फेल भएका परीक्षार्थीलाई प्रणालीमा किर्ते गरी पास गराइएको विभाग स्रोतले जनायो । ‘प्रायः ट्रायल पास हुनेलाई १५ दिनपछि राजस्व तिर्न आउन भनिन्छ,’ विभाग स्रोत भन्छ, ‘यहीबीचमा चलखेल गरेर आर्थिक लेनदेन गरी फेल भएकालाई पास गराइन्छ ।’ पास–फेल भएको कुरा त्यही दिन प्रणालीमा राख्न सके यस्ता समस्या नआउने विभागको दाबी छ । ट्रायल सञ्चालक, ट्रायल दिँदा खटिने ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालयका कर्मचारीको संलग्नतामै यस्तो कार्य सम्भव हुने विभाग स्रोतको भनाइ छ । ‘यस्तो काम एउटै निकायले चाहेर मात्र सम्भव देखिन्न,’ विभागका एक कर्मचारीले भने, ‘ट्रायल लिन खटिने सबैको संलग्नता भएरै यस्तो गरिन्छ ।’ ट्रायल पास भएर पनि यातायात कार्यालयहरूले फेल गराएको भन्दै गुनासो आउन थालेपछि विभागले प्रणालीमा जाँच गर्दा सेवाग्राहीका गुनासा पुष्टि हुने तथ्यांक फेला पारेको हो । ‘एकै पटकमा कति पास भए, कति फेल भए भनेर प्रणालीमा राख्दा समस्या हुने थिएन,’ विभागका ती कर्मचारीले भने, ‘पटक/पटक पास–फेल भएको तथ्यांक प्रणालीमा कार्यालयहरूले अपलोड गर्दा यस्तो पाइएको हो ।’ फेल भएर पनि पास गराइएकोबारे विभागले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको दाबी छ । ‘यसबारे सेवाग्राहीबाट पनि धेरै गुनासा आएका छन् । विभागले थप बुझ्ने र खोज्ने काम गरिरहेको छ,’ उनले भने, ‘यस विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पनि चासो जनाएको छ ।’ केही वर्षयता आर्थिक प्रलोभनमा परी नक्कली लाइसेन्स जारी गर्ने र ट्रायल फेल भएकालाई पास गराउने विकृति बढ्दै गएको छ । एकपछि अर्को लाइसेन्स नक्कली फेला पर्न थालेपछि त्यस्ता लाइसेन्सको छानबिन गर्न ०८० मंसिर २१ मा विभागका निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले अध्ययन गर्दा ०७२ मंसिरयता जारी १ लाख २ हजार ७ सय ११ वटा लाइसेन्स शंकास्पद भेटिएका थिए । नक्कली लाइसेन्स रद्द गराउन सीआईबी धाउनेमा सरकारी कर्मचारी बढी विभागको प्रणालीभित्रै छिरेर नक्कली लाइसेन्स बनाएको पाइएपछि एक उपसचिव र अधिकृतलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । यातायात कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव अर्याल र यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अधिकृत पदमराज आचार्यलाई थुनामा पठाइएको हो । अन्य तीन कर्मचारी र एक बिचौलिया भने धरौटीमा छुटेका छन् । सीआईबीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले उपसचिव अर्यालसहित १५ विरुद्ध किर्तेसम्बन्धी कसुर गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा गत असार २४ मा मुद्दा दायर गरेको थियो, जसमध्ये ६ जना पक्राउ परेका थिए । ९ जना फरार छन् । नक्कली लाइसेन्स प्रकरणमै यसअघि ९ जनाविरुद्ध सीआईबीकै अनुसन्धानका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । सेटिङ रोक्न ‘एडीटीटी’ प्रविधि ट्रायलमा हुने गरेको सेटिङ रोक्न ‘एडीटीटी’ (अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक) प्रविधि आवश्यक रहेको यातायात व्यवस्था विभागले जनाएको छ । यो प्रविधि लागू गर्न विभागले वाग्मती प्रदेशको यातायात मन्त्रालयलाई जेठ ८ मा पत्र पठाइसकेको छ । यो प्रविधि लागू गर्न सकिए ट्रायलमा हुने विकृति रोक्न सकिने विभागको दाबी छ । अहिले ट्रायल दिँदा पास–फेल भएको जानकारी ट्राफिक प्रहरीले सिटी फुकेर दिन्छन् । यस्तो अवस्थामा पास भएको मान्छे पनि फेल हुने, फेल भएको पनि पास हुने भइरहेको छ । यस्ता खालका विकृति हटाउन एडीटीटी प्रविधि लागू गर्नुको विकल्प नभएको विभागले जनाएको छ । यसमा क्यामराले सबै ट्र्याक मोनिटर गरेको हुन्छ । त्यो ट्र्याकमा सवारीसाधनले छोयो भने सफ्टवेयरले नै तगारो लगाइदिन्छ । त्यहींबाट ट्रायल दिने मान्छे फेल भए बाहिरिने र पास भए सफ्टवेयरमा आउने विभागका सूचना प्रविधि शाखाका निर्देशक मुकेश रेग्मीले बताए । कान्तिपुरबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *