डोल्पा — डोल्पामा यार्सागुम्बा संकलन र बिक्रीका लागि हालसम्म १०६ दशमलव ६१७ किलो ग्रामको इजाजत दिइएको छ। डोल्पास्थित डिभिजन वन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर रावलका अनुसार साउनदेखि हालसम्म ४१ जनाले उक्त इजाजत लिएका छन्।
रावलका अनुसार जेठ महिनामा मात्रै ९ जनाले ३८ दशमलव १२१ केजी यार्सागुम्बा संकलनको इजाजत लिएका थिए। प्रति केजी ३१ हजार रुपैयाँका दरले इजाजत दिने गरिएकाले हालसम्म विभिन्न शीर्षकमा जम्मा एक करोड दुई लाख २४ हजार रुपैयाँ राजस्व संकलन भइसकेको उनले जानकारी दिए।
सङ्कलन क्षेत्रमा पर्ने ठुलिभेरीका तीन सामुदायिक वन समूह र काइके गाउँपालिकाको एउटा सामुदायिक वन समूहले प्रवेश शुल्क लिने गरेका छन्। यस्तै, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पनि संकलनकर्ताबाट प्रवेश शुल्क उठाउने गरेको छ।
यस वर्ष यार्सागुम्बा सङ्कलनको कार्य जेठ ५ गतेदेखि सुरु भएको हो र असार ५ गतेसम्म जारी रहनेछ। अहिले यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
स्थानीयवासीको प्रमुख आम्दानी स्रोतको रूपमा रहेको यार्सागुम्बा संकलन यस वर्ष अघिल्ला वर्षहरूभन्दा केही कम मात्रामा भएको सङ्कलकहरू बताउँछन्। निकुञ्जभित्र उठेको रोयल्टी शुल्क संकलनको कार्य भने अझै जारी रहेको कार्यालयले जनाएको छ।