२०२५ मा अमेरिकाबाट ४८४ नेपाली निष्कासित

सन् २०२५ को एक वर्षको अवधिमा अमेरिकाबाट ४ सय ८४ नेपाली नागरिक निष्कासित भएका छन्। अध्यागमन नियन्त्रण तथा नियमन गर्ने अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले कागजातविहीन रूपमा गैरकानुनी बसोबास गर्दै आएका नेपालीलाई चरणबद्ध रूपमा निष्कासन गरेको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गैरकानुनी आप्रवासीमाथि नियन्त्रण, निष्कासन र कानुनी दायरामा ल्याउने नीति कडाइका साथ कार्यान्वयन भएपछि अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ।

EPIC EPIC EPIC

आइसको तथ्यांकअनुसार सन् २०१९ देखि २०२४ सम्मका छ वर्षमा जम्मा ३ सय ८९ नेपाली मात्र अमेरिकाबाट निष्कासित भएका थिए। तर २०२५ मा मात्र ४ सय ८४ नेपाली निष्कासित भएका छन्। आइसले सार्वजनिक गरेको पहिलो चरणको निष्कासन सूचीमा १ हजार ३ सय ६५ नेपाली समावेश थिए।

जनवरीदेखि डिसेम्बरसम्म निष्कासित नेपालीलाई चार्टर विमानमार्फत कतार र भारत हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई अध्यागमन कार्यालयको जिम्मा लगाइएको हो। निष्कासितमध्ये ४ सय २० पुरुष र ६४ महिला छन्।

महिनागत विवरणअनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३, अक्टोबरमा ३८, नोभेम्बरमा ८० र डिसेम्बरमा ९८ नेपाली निष्कासित भएका छन्।

यसअघि सन् २०१९ मा १ सय ६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ नेपाली अमेरिकाबाट निष्कासित भएका थिए।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले अमेरिकामा रहेका गैरकानुनी नेपालीको यकिन संख्या तथा निष्कासितको विस्तृत तथ्यांक आफूहरूसँग नभएको जनाएको छ। राजदूतावासका इकोनोमिक काउन्सिलर युगराज पाण्डेले निष्कासनको सूचीमा परेका सबै नेपाली दूतावासको सम्पर्कमा नआउँदा तथ्यांक संकलन गर्न कठिन भएको बताए।

राजदूतावासकी द्वितीय अधिकृत जुना अधिकारीका अनुसार सन् २०२५ मा ४ सय ७ वटा ट्राभल डकुमेन्ट जारी गरिएको छ। तीमध्ये ३ सय ९४ वटा आइसको अनुरोधमा बनाइएका हुन्। तर ट्राभल डकुमेन्ट जारी भएकामध्ये सबै निष्कासित भइसकेका हुन् वा होइनन् भन्ने आधिकारिक जानकारी दूतावासलाई नआएको उनले बताइन्।

राहदानी नभएका वा म्याद सकिएका र तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा ट्राभल डकुमेन्ट जारी गरिने गरिएको दूतावासले जनाएको छ।

टेक्ससको डालसमा हालै सञ्चालनमा आएको नेपाली महावाणिज्य दूतावासका प्रवक्ता प्रवीण भट्टराईले पछिल्लो समय ट्राभल डकुमेन्टका लागि निवेदन बढेको जानकारी दिए। उनले आठ राज्यअन्तर्गतका निवेदनलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

अमेरिकी गृह सुरक्षा विभाग होमल्यान्ड सेक्युरिटीका अनुसार २०२५ मा नेपालीसहित करिब २० लाख गैरकानुनी आप्रवासी अमेरिका बाहिरिएका छन्। तीमध्ये १६ लाखले स्वेच्छाले अमेरिका छाडेका छन् भने चार लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको हो।

होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोएमले ट्रम्प प्रशासनको नीति र आइसको सक्रियताका कारण स्वेच्छाले अमेरिका छाड्नेको संख्या पनि बढेको बताएकी छन्। हाल अमेरिकामा गैरकानुनी आप्रवासीको संख्या १ करोड ३८ लाखमा झरेको विभागको दाबी छ।

गैरकानुनी आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुयला, ब्राजिल र कोलम्बियाका नागरिक छन्। निष्कासनसँगै गैरकानुनी आप्रवासीलाई रोजगारी दिने व्यवसायीमाथि पनि आइसले कारबाही गर्दै आएको छ। आइसका अनुसार ती व्यवसायीबाट १० लाख अमेरिकी डलरभन्दा बढी जरिवाना असुल गरिएको छ।

‘अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्नेहरूलाई पक्राउ र निष्कासन गर्ने प्रक्रिया निरन्तर कडाइका साथ अघि बढाइनेछ,’ नोएमले भनिन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *