काठमाडौं। स्थानीय सरकारका २ जना प्रमुख उपप्रमुखसहित १७ जना वडाध्यक्ष पद रिक्त भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयले जनाएको छ ।
मन्त्रालयले गत ५ भदौमा स्थानीय तहहरुलाई मृत्यु वा अन्य कारणबाट रिक्त भएका जनप्रतिनिधिको विवरण पेश गर्न स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई पत्राचार गरेको थियो ।
७ दिनको समयावधि दिएर पुनः ताकेता गरेको मन्त्रालयले यो अवधिमा पालिकाका प्रमुख र वडाध्यक्ष गरी १९ स्थानमा तत्काल निर्वाचन गराउनु पर्ने तथ्यांक आएको जनाएको छ ।
वडा सदस्यहरुको तथ्यांक भने प्रशोधन भइरहेकाले यकिनका साथ भन्न सकिने अवस्था अझै नभएको मन्त्रालयको भनाइ छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगमा पेश गरेको प्रारम्भिक तथ्यांकअनुसार नै तत्काल १९ स्थानमा उपनिर्वाचन गर्नुपर्ने देखिएको निर्वाचन आयोगको भनाइ छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएकाले सो स्थानसहित देशभरका १७ वटा वडामा तत्काल निर्वाचन गर्नुपर्ने अवस्था देखिएको मनत्रालयको भनाइ छ ।
कोशी प्रदेशका २, मधेशको १, बामगतीका ३, गण्डकीको १, लुम्बिनीका ३, कर्णालीका २ र सुदूरपश्चिम प्रदेशका ३ वटा स्थानीय तहका विभिन्न वडामा वडाध्यक्षको पद रिक्त रहेको तथ्यांक मन्त्रालयमा प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको गढी गाउँपालिका–६, उदयपुरको त्रियुगा नगरपालिका–१२, रौतहटको इशनाथ नगरपालिका–६, काठमाडौंको कीर्तिपुर नगरपालिका–४, नुवाकोटको ककनी गाउँपालिका– २ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ मा वडाध्यक्षको उपनिर्वाचन गर्नुपर्ने भएको छ ।
गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट गाउँपालिका–१, रोल्पाको रुन्टिगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७ का वडाध्यक्षको पनि मृत्यु भएका कारण उपनिर्वाचन गर्नुपर्ने अवस्था छ ।
दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४ र डोटीको पूर्वीचौकी गाउँपालिका–६ वडामा पनि अध्यक्ष पद खाली छ ।



















