झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघबीच पछिल्लो तिक्तता बढ्दै गएको छ ।
पछिल्लो दुर्गा प्रसाईंका कार्यकर्ता र युवा संघका सदस्यहरूले एकले अर्काको कार्यक्रम बिथोल्नतिर लागेका छन् ।
गत असोज २५ गते झापाको अर्जुनधारामा युवा संघको नगर अधिवेशन उद्घाटन गर्न आएका नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतलाई प्रसाईंका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका थिए ।
कडा सुरक्षाबीच बस्नेतलाई अवरोध गर्न नसकेपछि कार्यक्रममा उपस्थित युवा संघ सम्बद्ध नेता तथा कार्यकर्ताका सवारी साधन प्रसाईंका कार्यकर्ताले तोडफोड गरेका थिए ।
सोही घटनामा संलग्न भएको आरोपमा प्रसाईंका दुई जना कार्यकर्ता बिक्रम लिम्बु र बिजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसपछि युवा संघले दुर्गा प्रसाईंका हरेको कार्यक्रम बिथोल्ने संस्थागत निर्णय गरेको थियो । शनिबार प्रसाईँले इलामको दानावारीमा गर्न लागेको कार्यक्रममा युवा संघका कार्यकर्ताहरूले अवरोध पुर्याएका छन् ।
युवा संघका कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका छन् ।
दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्न लागेका थिए ।
दानाबारी जाने सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि टायर बालेर अवरोध गरेका थिए । उनीहरूले कुनै पनि हालतमा जान नदिने चेतावनी दिएपछि प्रसाईँले बाध्य भएर कार्यक्रम स्थगित गरेका हुन् ।
आफूले २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिस्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईँले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताए ।
काठमाडौंमा युवा संघका कार्यकर्ताले प्रसाईंलाई मोसो दलेपछि दुई पक्षबीच तनाव बढ्दै गएको छ ।