कचनकवल। कचनकवल स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा दैनिक दुई देखि चार जना कुकुरले टोकेका बिरामी आउने गरे पनि रेबिज विरुद्धको इन्अजेक्शनको अभावका कारण समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । कचनकवलका स्थानीयलाई मात्र नभई छिमेकी पालिका भद्रपुर नगपालिकाका स्थानीयलाई समेत सुविधा लिई रहेको अवस्थामा खोपको अभाव हुनु चिताजनक रहेको स्थानीय बताउँछन् ।
कचनकवलको एक मात्र प्राथमिक उपचार केन्द्र बनियानीमा नि:शुल्क रुपमा पाइने रेबिज सुई बैशाख देखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामीलाई समस्या हुने गरेको बताइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा पाइने सो सुई प्रदेश स्वास्थ्य निर्देशनालयमै नभएको कारण अहिले बिरामीले निजी औषधि पसलमा चर्को मूल्यमा खरिद गरी प्रयोग गर्न बाध्य भएको स्थानीयवासी नारद अधिकारीले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका फोकल पर्सन नवीन मिश्रले भने रेबिजविरुद्ध दिइने सुई बैशाख देखि अभाव भएपछि विभागमा माग गरिए पनि विभागबाट अहिलेसम्म नआएकोले बिरामी फर्किनु परेको उनले बताए।
रेबिज प्राणघातक रोग हो। यसको संक्रमण भएर लक्षण देखापरेपछि मानिसको मृत्यु हुन्छ। घरपालुवा वा वन्यजन्तुको टोकाइबाट सर्ने रेबिजको लक्षण केही वर्षमा देखिनपनि सक्छ। तर, रेबिज संक्रमण भइसकेपछि मानिसको बाँच्ने सम्भावना नगन्य हुने स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले बताए।



















