काठमाडौं / नेपालमा बेरोजगारी उच्च हुँदा वैदेशिक रोजगार नै युवाको मुख्य विकल्प बनेको छ । मुलुकको अर्थतन्त्र विदेशमा श्रम गर्न पुगेका नेपालीले पठाउने रेमिट्यान्सले धानेको छ । विशेषगरी दशैं–तिहारजस्ता चाडपर्वका बेला वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स झनै बढ्ने गरेको छ ।
दशैं सुरु भएसँगै रेमिट कम्पनीहरू रेमिट्यान्स कारोबार दोब्बरभन्दा बढी हुने गरेको बताउँछन् । नेपालबाट वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने नेपालीहरूले समेत चाडपर्वमा आफूले कमाएको पैसा घर खर्च र पर्व मनाउन पठाउने हुँदा प्रत्येक वर्षको दशैं, तिहार, छठ पर्वमा रेमिट्यान्सको कारोबार बढी हुने गरेको छ । यतिबेला नेपाल आउने रेमिट्यान्स आधाभन्दा धेरै दैनिक उपभोगमै सकिने गरेको छ ।
विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स दैनिक उपभोगसँगै चाडपर्वका बेला अर्थतन्त्र चलायमान गराउने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘नेपालका युवा जनशक्ति अहिले विदेशमा छन् तर घरमा आफ्नाका लागि चाडपर्वमा खर्च गर्न पैसा पठाउने गरेका छन् ।’ उनले भने, ‘आफू आउन नपाए पनि परिवारले पर्वलाई रमाइलो गरी मनाउन भनेर यसबेला धेरैले पैसा पठाउँदा रेमिट्यान्स बढेको हो ।’
मुलुकमा वार्षिक संकलन हुने कर राजस्वभन्दा विदेशबाट आउने रेमिट्यान्स बढी छ । पछिल्लो ६ वर्षमा रेमिट्यान्समार्फत ७२ खर्ब रुपैयाँ नेपाल भित्रिसकेको छ । एक दशकअघि आर्थिक वर्ष २०७१/७२ मा ६ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो भने गत वर्ष २०८१÷८२ मा १७ खर्ब २३ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउन एक महिनामा १ खर्ब ७७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको तुलनामा २९ प्रतिशतको वृद्धि हो ।
नेपालबाट श्रमका लागि विदेश जाने नेपालीको बढ्नुका साथै डलरको मूल्यसमेत बढेको भएर रेमिट्यान्स रकम बढेको हो । रेमिट्यान्सले मुख्यतः नेपाली परिवारका शिक्षा, स्वास्थ्य, दैनिक आवश्यकता पूर्ति गर्नमा धेरै ठुलो हिस्सा खर्च भइरहेको देखिन्छ ।
केमा खर्च हुन्छ रेमिट्यान्स ?
–रेमिट्यान्स आउने घर : ७६ दशमलव ८ प्रतिशत
–दैनिक उपभोगमा ५८ दशमलव ७८ प्रतिशत
–शिक्षा र स्वास्थ्यमा २२ दशमलव ४८ प्रतिशत
–ऋण तिर्न १० दशमलव शून्य ७ प्रतिशत
–अन्य विविधि कार्यका लागि ८ प्रतिशत
–बचत : ३ प्रतिशत
नेपाली आयस्रोतको प्रमुख हिस्सा रेमिट्यान्स बन्दै गएको छ । रेमिट्यान्स बढ्दै जाँदा नेपालीको साधारण जीवनशैलीमा परिर्वतन आएको छ । अहिले वार्षिक रूपमा रेमिट्यान्स बढी रहेको भएपछि बचतभन्दा उपभोगमै धेरै खर्च हुने गरेको छ । विदेशबाट आएको रेमिट्यान्स उत्पादनभन्दा उपभोगमा जाँदा सदुपयोग कम भएको देखिन्छ । यस्तै रेमिट्यान्सले नेपालको गरिबी दर घटाउन, साक्षरता दर बढाउन र परिवारको आधारभूत आवश्यकता पूरा गर्न काममा मात्र खर्च भएको छ । अब सरकारले रेमिट्यान्सलाई सदुपयोग गर्न जलविद्युत् आयोजना, पर्यटन तथा सेयर बजारमा समेत लगानी गर्नेगरी नीति ल्याउने हो भने नेपाल भित्रिएको पैसाले आम्दानी गर्ने वातावरण बनाउन सक्छ ।