काठमाण्डाै – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अहिलेसम्म ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।
नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुका सचिव सञ्जीव धितालले ३२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध जितेको बताउनुभयो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घबाट २८ वटा क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो ।
यस्तै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका उपाध्यक्ष मदन ढकालले बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले मकवानपुरमा रहेको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।
त्रिविबाट आङ्गिक ६२ सम्बन्धन प्राप्त १ हजार ४० वटा क्याम्पसमा आउँदो चैत ५ गते हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
यसैबीच नेविसङ्घकाे डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । यस्तै नेविसङ्घले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ ।
यसैबीच रोल्पामा स्ववियु चुनावका लागि नेविसङ्घविरुद्ध अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गठबन्धन गरेका छन् । यस्तै आरआर क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीले स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् ।