Search
Close this search box.
Search
Close this search box.

९ महिनामा विद्युत् प्राधिकरणले कमायो ११ अर्ब रुपैयाँ नाफा

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरणअनुसार, यो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
 
प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८  करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा ११ अर्ब ६ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९-८० को सोही अवाधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७२-७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारततर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको प्राधिकरणले जनाएको छ ।

EPIC

प्राधिकरणले चालु आर्थिक वर्षको नौ महिनामा विद्युत् बिक्रीबाट ६८ अर्ब ८९ करोड रुपैयाँ खुद संकलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ । यो अवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । 
 
आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च

 
प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आर्थिक वर्षको चैत महिनासम्ममा १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई एक अर्ब ६३ करोड ऋण दिएको छ । सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यो अवधिमा वैदेशिक सहायतातर्फबाट १४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *